मंसिरमा हुने आम निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

मंसिरमा हुने आम निर्वाचनका लागि उम्मेदवारी दर्ता आज


आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता आज हुँदै छ । 

उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ५ बजेसम्मको समय दिइएको छ । निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन दर्तापछि सोमबार उम्मेदवारको विरोधमा उजुरी दिने तथा २४ गते सोमबार र २५ गते मंगलबार मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ । यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ । 

उम्मेदवारी दर्ताको काम निर्धारित समयभित्रै गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव आए पनि आयोगले पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन नगर्ने बताएका थिए । स्थानीय तहको निर्वाचन, समानुपातिक तर्फको उम्मेदवारी दर्ताका लागि २ दिनको समय दिएजस्तै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताका लागि पनि समय बढाउन माग गरे पनि आयोगले समय थप नगर्ने उनको भनाई थियो । 

विगतमा २ दिन उम्मेदवारी दर्ता गर्ने समय दिँदा पनि दलहरू दोस्रो दिनको अन्तिम समयमा आएर उम्मेदवारी  दर्ता गर्ने गरेको आयोगको अनुभव रहेको बताउँदै निर्वाचन कार्यक्रम सार्ने अवस्था नरहेको बताए । उनले उम्मेदवारी दर्ता गर्नका लागि कुनै वाधा आएमा आयोगले सहयोग गर्ने बताए । उनले निर्धारित समयमा उम्मेदवारी दर्ता गर्नका लागि आग्रह गर्दै मनोनयन दर्ता स्थलमा २५ जनाभन्दा बढीको जुलुस लैजान नहुने पनि स्मरण गराए ।

Logo