जलविद्युत उत्पादनमा आत्मनिर्भर हुँदै सुदूरपश्चिम प्रदेश

बझाङ,

बझाङको कालंगा बेसिनका तीन जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन भएसँगै सुदूरपश्चिम प्रदेश आउँदो डेढ वर्षमा आत्मनिर्भर हुने भएको छ । कालंगा बेसिनको ३८.४६ मेगावाटको अपर कालांगा, १५.३३ मेगावाटको कालंगा र १०.७० मेगावाटको सानीगाड जलविद्युत् आयोजनाबाट ६४.४९ मेगावाट विद्युत् आउँदो १६,१७ महिनामा उत्पादन हुने भएको छ ।

यी आयोजनाबाट विद्युत उत्पादन भएसँगै सुदूरपश्चिम प्रदेश जलविद्युतमा आत्मनिर्भर भई अन्य प्रदेशलाई समेत जलविद्युत् निर्यात गर्ने जनाइएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा करिब ६५ मेगावाट विद्युतको माग छ ।

प्रदेशको विद्युत विस्तार नभएको क्षेत्रमा समेत विद्युत विस्तार गर्दा कुल विद्युत माग पाँच मेगावाट मात्रै बढ्ने नेपाल विद्युत् प्राधिकरण प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक सतिशकुमार कर्णले बताए । उनले सुदूरपश्चिम प्रदेशको सबै वस्तीमा विद्युत विस्तारपछि यहाँको कुल माग ७० मेगावाट पुग्ने बताए । हाल सुदूरपश्चिम प्रदेशको आफ्नो उत्पादन ४२ मेगावाट छ । बझाङका तीन आयोजनाबाट उत्पादन भएपछि १ सय ६ मेगावाट पुग्नेछ ।

आउँदो एक वर्षमै राष्ट्रिय गौरवको रानी जमरा सिँचाइ आयोजनाले समेत ४.७१ मेगावाट जलविद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्ने गरी निर्माण गरिरहेको छ । योसँगै सुदूरवपश्चिमको जलविद्युत् उत्पादन १ सय ११ मेगावाट पुग्ने छ । प्रदेशमै खतप भई बाँकी रहेको ४१ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारणलाइनबाट अन्य प्रदेशमा सप्लाई हुनेछ ।
कारोबारबाट