पतञ्जलीका आचार्य बालकृष्णलाई पेडामा विष मिसाएर खुवाइएको खुलासा

काठमाडौँ,
गतसाता अचानक अस्वस्थ हुनुभएका भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ । नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवका मुख्य सहयोगी हुनुहुन्छ।

पतञ्जली योगपीठ नेपालमा पनि सक्रिय छ । आचार्य अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन् । कृष्ण जन्माष्टमीको दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा अचानक बिरामी हुनुभएका आचार्य बालकृष्णको स्वाथ्यमा सुधार देखिएको छ ।

पेडा खाएको केही समयपछि बेहोस हुनुभएका आचार्यलाई तत्काल पतञ्जलीको स्वामित्वमा रहेको अस्पतालबाट अर्कै अस्पतालमा सरुवा गरिएको थियो।आचार्यलाई पेडामा विष मिसाएर खान दिएको आशंका गरिएको छ ।

उपचारार्थ भर्ना भएका आचार्यको अवस्था चिन्ताजनक रहेको खबर सुनेपछि पतञ्जली नेपालका ट्रस्टी शालिकराम सिंह, पूर्वअध्यक्ष शम्भु दाहाल, उपेन्द्र महतो, योग गुरु लवदेव मिश्र, पतञ्जलीका कोषाध्यक्ष ओम वंशल, प्रदेश ३ का संयोजक ग्रोपेन तौजले, महिला विभाग प्रमुख अर्चना घिमिरे, केन्द्रीय सदस्य गणपति मण्डल, सेवा आश्रम प्रमुख देवकृष्णलगायको टोली शनिबार हरिद्वार पुगेको थियो ।

अहिले उहाँको अवस्था सामान्य रहेको र हरिद्वारस्थित कनखल आश्रममा आराम गरिरहनुभएको नेपालस्थित पतञ्जली योगपीठका पूर्वअध्यक्ष शम्भु दाहालले बताउनुभयो । नेपालमै औषधी उत्पादन गरी बजार विस्तार गर्ने योजनासहित पटकपटक नेपाल आउनुभएका आचार्य बालकृष्णको फुड प्वाइजन भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने देखिएको छ।
नेपाल समाचारपत्रबाट