मंगलादेवी सिंहको २३ औं स्मृति दिवस (को हुन् मंगलादेवी ?)

काठमाडौँ । नेपाल महिला संघकी स्थापक नेतृ स्वर्गीय मंगलादेवी सिंहको २३ औं स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसको अवसरमा आज बिहान शोभाभगवतीस्थित सिंहको शालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरिएको छ । महिलाहरुको हकहितका लागि जहानियाँ राणा शासकहरुबिरुद्ध आन्दोलन गर्नु आफैंमा जोखिमपूर्ण काम भएको समयमा स्वर्गिय सिंहको योगदान अविष्मरणिय छ ।

नेपाल महिला संघले आफ्नो संस्थापक नेताको स्मृतिमा देशभर आज विभिन्न कायक्रम आयोजना गरेको छ । मंगलादेवी सिंह कांग्रेसका सर्वमान्य नेता एवं लौह पुरुष गणेशमान सिंहकी श्रीमती हुन् । काँग्रेस नेता प्रकाशमान सिंह गणेशमान र मंगलादेवीका छोरा हुन् ।

को हुन् मंगलादेवी सिंह ?

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्म वि.सं. १९८१ मा काठमाडौंमा भएको थियो । वि.सं. १९९७ असार महिनामा उहाँको विवाह गणेशमान सिंहसँग भएको थियो । वि.स. १९९६ मा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहाँनिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो ।

वि.सं. २००४ सालमा भूमिगत संगठनको रुपमा नेपाल महिला संघको स्थापना गरेर उहाँ आजन्म अध्यक्ष रहनुभएको थियो । २००५ सालमा पद्म शमशेरद्वारा गरिएको सुधारप्रति असन्तोष प्रकट गर्दै सिंह महिलाको जुलुस लिएर राणाहरुको दरबार पुग्नुभएको थियो । वि.सं.२००७ सालको क्रान्तिमा ठूलो भूमिका निर्वाह गर्नुभएको थियो ।

सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो । २०२५ सालपछि ८ वर्ष प्रवासमा रहनुभएको थियो । सिंह २०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा पनि सक्रिय रहनुभएको थियो ।

२०४८ साल प्रतिनिधिसभा निर्वाचनमा उहाँ पराजित हुनुभयो । उहाँद्वारा लिखित ‘नारी संघर्षका पाइलाहरु’ नामक संस्मरणात्मक पुस्तक एउटा जिवन्त इतिहास हो । सिंहको निधन वि.सं.२०५३ साल भदौ १० गते भएको थियो ।