पहिरोका कारण ४ घर पुरिए , २४ घर विस्थापित

कालिकोट,

जिल्लाको तिलागुफा नगरपालिका–७ टाकुल्ला ढाडगाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । भिषण पहिरोका कारण ४ घर पुरिनुका साथै २४ घरपरिवार विस्थापित भएका छन् ।

सोमबार बेलुका आएको बाढी र पहिरोका कारण २४ घर विस्थापित भएका हुन् । पहिरोका कारण जोखिममा परेका घर परिवारहरुको अहिले राहत तथा उद्दारको कार्यमा सशस्त्र प्रहरी बल र नेपाली प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण ४ घर पूरै क्षति पुगेको अन्य २४ घर निकै जाखिममा रहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो । ‘सोमबार बेलुका ६ बजेबाट बाढी पहिरो आएको र जानकारी पाउनासाथ स्थानीयवासी घर छोडेर भागेपछि जोगिन सफल भएका हुन् ।

दिउसो स्थानीय भाग्न सफल भएका कारण मानवीय क्षति भने भएन’ उहाँले भन्नुभयो, ‘धनमालको ठूलो क्षति भएको छ ।’ बाढी र पहिरोका कारण बालीगाड लघु जलविद्युत् आयोजना भत्किएको र राजमार्ग अवरुद्ध भएको नगर प्रमुख शाहीले बताउनुभयो ।

भिषण पहिरोले २ हप्तासम्म पनि कर्णाली राजमार्ग खुल्ने सम्भावना छैन । सडक खुलाउन रफ्तारमा लागेपनि २ हप्ता सम्म लाग्न सक्ने बताइएको छ । जुम्लाबाट, मुगुदेखि र सुर्खेत नेपालगन्जबाट आउने यात्रुहरु अलपत्र परिरहेका छन् ।
नेपाल समाचारपत्रबाट