भारतीय मूलका सिख परिवारको हत्याका आरोपितलाई मृत्युदण्ड हुनसक्ने

भारतीय मूलका सिख परिवारको हत्याका आरोपितलाई मृत्युदण्ड हुनसक्ने


सन फ्रान्सिस्कोमा एक भारतीय मूलको सिख परिवारको आठ महिनाको बच्चा सहित चार जनाको हत्यामा संलग्न एक अभियुक्तलाई पहिलो डिग्री हत्याको चार वटा मुद्दा लगाइएको छ। 

अभियुक्त जेसस सालगाडो अपहरण र हत्याको आरोपमा अक्टोबर ६ मा पक्राउ परेका थिए। उनलाई फर्स्ट–डिग्री हत्याको चार वटा आरोप लगाइएको हाे । मर्सिड काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्यालयले एक समाचार विज्ञप्तिमार्फत ४८ वर्षिय  साल्गाडोको मुद्दामा मृत्युदण्डको सजाय कार्यान्वयन गर्ने कि नगर्ने भनेर यो वर्ष निर्णय नगर्ने बताएको छ। साल्गाडोले अपहरण गरी हत्या गरेको परिवारमा आठ महिनाकी बालिका आरोही ढेरी, उनकी २७ वर्षीया आमा जसलीन कौर, ३६ वर्षीय बुबा जसदीप सिंह र ३९ वर्षीय काका अमनदीप सिंह रहेका छन् ।

अपहरणपछि परिवारले उनीहरुको बारेमा कुनै जानकारी नपाएपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले अक्टाेबर ३ मा बेपत्ताको अनुसन्धान थालेको थियो । मर्सिड काउन्टी शेरिफको कार्यालयको भिडियो निगरानीले सन्दिग्धले बन्दुकको नोकमा परिवारलाई अपहरण गरी ट्रकमा लगेको देखाएको छ। अमेरिकामा मारिएका चार भारतीय मूलका सिखका शोक सन्तप्त आफन्तले क्यालिफोर्नियामा ३ लाख अमेरिकी डलरभन्दा बढी संकलन गरेका छन्, तर मृतकका वृद्ध आमाबुवा भने भारत फर्किएका छन्।

शेरिफको कार्यालयले एक विज्ञप्तिमा साल्गाडोले गत मंगलबार आत्महत्याको प्रयास गरेको जनाएको छ। उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई जेल पठाइएको छ । साल्गाडोलाई ट्रकमा आगजनी, अवैध रूपमा बन्दुक राखेको र आगजनी गरेको अभियोग पनि लगाइएको छ। उनका भाइ अल्बर्टो साल्गाडोलाई पनि आपराधिक षड्यन्त्र र प्रमाण नष्ट गरेको आरोपमा पक्राउ गरिएको थियो। साल्गाडोले २००५ मा एउटा अर्को परिवारलाई बन्दुकको नोकमा उनीहरुको ग्यारेज लुटेको आरोपमा झण्डै एक दशक जेलमा बिताएका थिए।

Logo