उपत्यकाव्यापी विज्ञान हाजिरीजवाफ प्रतियोगिता–२०७६ काे उपाधि केएमसीलाई

भदौ ११, काठमाडाैँ । रक्तकाली शैक्षिक प्रतिष्ठानअन्तर्गत ह्वाइटफिल्ड माध्यमिक विद्यालयले आयोजना गरेको तेस्रो ह्वाइटफिल्ड उपत्यकाव्यापी विज्ञान हाजिरीजवाफ प्रतियोगिता–२०७६ बुधबार सम्पन्न भएको छ । सोमबार सुरु भएको सो प्रतियोगिताको उपाधि केएमसी स्कुल शंखमूलले हात पारेको छ ।

त्यस्तै लिटिल एन्जल्स स्कुल हात्तीवन दोस्रो, गोरखकाली स्कुल बालाजु तेस्रो र जेम्स स्कुल वनस्थलीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिष्ठानका संस्थापक निर्देशक, विद्यालयकी प्रिन्सिपल दुर्गा श्रेष्ठ तथा रोटरी क्लब ललितपुर मिड टाउनका पूर्वअध्यक्ष सुनिलकृष्ण श्रेष्ठले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए । विद्यालयकै सभाकक्षमा सञ्चालित औपचारिक कार्यक्रममा विजेताहरूलाई प्रमाणपत्रसहित ट्रफी प्रदान गरिएको थियो । ह्वाइटफिल्ड इन्ट्र्याक्ट-रोट्र्याक्ट क्लबको संयोजकत्वमा सञ्चालित सो प्रतियोगितामा उपत्यकाका ४० वटा विद्यालय सहभागी भएका थिए ।