महाभारतका पाँच मामा : काे कस्ता ?
महाभारतमा मामाकाे कुरा गर्दा शकुनिको नाम नगरी सुखै छैन उनी दुर्याेधनका मामा हुन् । त्यस्तै अर्का मामा कंशको पनि उत्तिकै चर्चित छन्। उनी हुन् भगवान् कृष्णका मामा कंश । यीमध्ये एककाे आफ्नो भानिजसँग सौहार्द सम्बन्ध थियाे भने अर्काचाहिँ एकअर्काका शत्रु थिए ।
त्यसो त महाभारतमा मामा तथा भान्जाहरूको थुप्रै प्रसंग छन् । एकातिर आफ्नो भान्जालाई देखिनसहने मामा छन्, अर्काथरी सतहमा राम्रो तर भित्र भित्र सिध्याउन खोज्ने अनि अर्कातिर भान्जाका लागि निस्वार्थ भावले सहयोग गरी संकटबाट पार लगाउने मामा पनि छन् ।

महाभारतको मामाको कुरा गर्दा सर्वप्रथम मामाश्री शकुनीको नाम आउँछ ।  शकुनी बाहेक पनि केही त्यस्ता मामा छन् जसको प्रवृत्ति राेचक छ । यहाँ त्यस्ता ५ जना मामाकाे चर्चा गरिएकाे छ

कंश 

महाभारत तथा पुराणमा जरासन्धको चर्चा निकै पाइन्छ । जरासन्ध तत्कालीन समयमा सबैभन्दा शक्तिशाली जनपद मगधका सम्राट् थिए ।  उनै जरासन्धका ज्वाइँ कंश भगवान श्रीकृष्णका मामा थिए ।  कंश आफ्ना बाबु उग्रसेनलाई राजगद्दीबाट हटाएर जेलमा हाली स्वयं शूरसेन जनपदका राजा बनेका थिए । मथुरा शूरसेन जनपदअन्तर्गत पर्दथ्यो ।

त्यहाँ कंशका  काका शूरसेनको राज्य थियो । कंशले मथुरालाई पनि आफ्नो शासनको अधीन ल्याएका थिए र प्रजालाई अनेक प्रकारबाट पीडित बनाउन थालेका थिए । श्रीकृष्णकी फुपूका छोरा शिशुपालको झुकाव पनि कंशतिरै थियो ।

कंस पूर्वजन्ममा कालनेमि नामक असुर थिए जसलाई भगवान विष्णुले मारेका थिए । कंसको बारेमा आकाशवाणी भएको थियो कि उनकै बहिनी देवकीको आठौँ पुत्रले उनलाई मार्नेछ ।  यो भविष्यवाणीका कारण उनलाई डरले सताएको थियो ।

कंशले आफ्ना बहिनी देवकी र ज्वाइँ वसुदेवलाई जेलमा हालिदिएका थिए । जेलमा देवकी र वसुदेवका जति पनि पुत्र हुन्थे तिनलाई कंशले मारिदिन्थे ।  ८ औं पुत्र भगवान् श्रीकृष्ण जब रातमा जन्मिए तब चमत्कार घटित भयो । जेलका सबै सैनिक निदाए र सम्पूर्ण ढोकाहरू अनायास खुले ।

वसुदेवले पुत्र श्रीकृष्णलाई रातारात आफ्ना मित्र नन्दको घर गोकुलमा छोडेर आए । जहाँ नन्दपत्नी यशोदाले कृष्णको पालनपोषण गरिन्।  कंशले कृष्णलाई मार्न थुप्रै राक्षस पठाए तर उनका सबै उपाय असफल भए। केही उपायले नछोएपछि कंशले मल्ल युद्धको आयोजन गरे र त्यसमा सबै योद्धाका साथै श्रीकृष्ण र बलरामलाई बोलाए ।

कंशको भित्री चाहना दुवैलाई बोलाएर आफ्ना योद्धाहरूका सहायताबाट उनीहरूलाई मार्नु थियो ।  तर यस्तो भएन । श्रीकृष्ण र उनका दाजु  बलरामले मिलेर उनका पक्षका योद्धाहरू सहित आफ्ना मामा कंशलाई मारिदिए ।  अनि उनीहरुले आफ्ना मातापितालाई जेलमुक्त गराए ।

शकुनि

गान्धारीका दाजु र दुर्योधनको मामा शकुनि महाभारतका महत्वपूर्ण पात्र हुन् । कौरवहरूलाई छलकपटको मार्गमा लाग्न सिकाउने शकुनिले नै कौरवहरूको  मनमा पान्डवप्रति घृणाभाव जगाएका थिए। यद्यपि भनिन्छ, उनको मनमा कौरवहरूप्रति पनि  बदलाको प्रबल भावना थियो ।

भनिन्छ, भीष्मले शकुनीको बहिनी गान्धारीको विवाह अन्धा  धृतराष्ट्रसँग  जवर्दस्ती गरिदिएका थिए । पछि धृतराष्ट्रले गान्धारीका  पिता सुबल तथा अन्य पुत्रलाई आजीवन जेल कोचिदिएका थिए ।

जेलमा उनीहरूलाई खानका लागि केवल एक व्यक्तिलाई पुग्ने भोजन दिइन्थ्यो । यो परिवारलाई नै भोकै मार्ने षड्यन्त्र थियो । राजा सुबलले यो निर्णय लिए कि उक्त भोजन केवल उनको कान्छो छोरोलाई दिने, ताकि आफ्नाे परिवारको एकजना मात्र भए पनि जीवित रहन सकियोस् ।

उक्त भोजन शकुनी एक्लैले खान्थे । अरू सबै एक-एक गरेर मर्न थाले।  मृत्युअघि सुबलले धृतराष्ट्रसँग आफ्नाे अन्तिम इच्छाका रूपमा शकुनिको रिहाइ मागे । धृतराष्ट्रले उक्त कुरा स्वीकार गरे । शकुनि रिहा भए तर आफ्नाेआँखा अगाडि माता, पिता र दाजुहरू भोकले मरेको कुरा शकुनिले भुल्नसक्ने कुरै थिएन ।

जेल बाहिर आएपछि शकुनिसँग दुई विकल्प थियो। आफ्नो देश जाने वा  हस्तिनापुरमै बसेर बदला लिन प्रयास गर्ने ।  गान्धारको राज्य आफ्ना पुत्र उलूकलाई दिएर शकुनिले दोस्रो विकल्प रोजे । शकुनिले हस्तिनापुरमा  सबैको विश्वास जिते र १०० कौरवको अभिवावक बनेर बसे ।  विश्वासपूर्ण कार्यका कारण दुर्योधनले शकुनिलाई आफ्नाे मन्त्री  नियुक्त गरे ।

शकुनिले  दुर्योधनलाईआफ्नाे बुद्धिको मोहपाशमा बाँधेर भड्काए।  शकुनिले नै पाण्डवहरूलाई मार्न लाक्ष्यागृहको योजना बनाए । शकुनिकै प्रयास स्वरूप महाभारत युद्धको आधार खडा भयो । शकुनिकै युक्तिका कारण जुवा खेलियो र उसको छलपूर्ण पासाको कारण पाण्डवले सर्वस्व गुमाए । जुन महाभारत युद्धको कारण बन्यो ।

शल्य 

रघुवंशी शल्य पाण्डवका मामा थिए । कौरवहरूले पनि उनलाई मामा मानेर आदरसम्मान गर्थे । पान्डुपत्नी माद्रीका दाजु अर्थात नकुल र सहदेवका साख्खै मामा शल्यसँग विशाल सेना थियो ।  महाभारत युद्ध घोषणा भएपछि शल्य आफ्ना भान्जाहरूलाई सहायता गर्न सेनासहित हस्तिनापुरतर्फ लागे ।  बाटामा उनले जहाँ विश्राम गरे त्यहाँ सैनिक सहित उनलाई बस्न, खान, आराम गर्न उत्तम व्यवस्था थियो ।  यो  व्यवस्था देखेर उनी प्रसन्न भए।  यो सबै युधिष्ठिरले गरेका हुन् भन्ने लाग्यो उनलाई ।

हस्तिनापुरको नजिक पुग्दा  सुन्दर विश्रामस्थल तथा सेनाका लागि  भोजनको उत्तम व्यवस्था देखे । शल्यले यो देखेर भने, ‘युधिष्ठिरका कुन कर्मचारीले यस्तो उत्तम व्यवस्था गरेका हुन्, म पुरस्कार दिन  चाहन्छु ।’  यो कुरो लुकेर सुनिरहेका दुर्योधनले सुने ।  उनी बाहिर आए र हात जोडेर भने, ‘मामाश्री ! यो सबै व्यवस्था मैले हजुरलाई कुनै कष्ट नहोस् भनेर गरेको हुँ ।’

यो सुनेर शल्यको मनमा दुर्योधनप्रति प्रेम उर्लियो । उनले भावुक हुँदै भने, ‘माग, आज तिमीले जे मागे पनि दिन्छु ।  म तिम्रो सेवाबाट अतिप्रसन्न छु ।’ यो सुनेर दुर्योधनले भने, तपाईं सेनासहित युद्धमा मेरो पक्षमा लड्नुहोस् र सेनापतिको  कार्यभार सम्हाल्नुहोस् ।’   यो सुनेर शल्य केही बेर चुप रहे ।  वचनमा बाँधिएको हुनाले उनले  दुर्योधनको प्रस्ताव स्वीकार नगरी सुख पाएनन् ।

तर उनले शर्त पनि राखे कि, म युद्धमा पूरा साथ दिन्छु, जे भन्छु त्यो गर्छु तर मेरो बोलीमा मेरै अधिकार हुन्छ । मैले चाहेको कुरा बोल्न कसैले रोक्न पाउने छैन । दुर्योधनले यो शर्तमा विशेष कुरा केही देखेनन् र त्याे शर्त स्वीकार गरे ।

शल्य महारथी थिए ।  उनलाई कर्णको सारथी पनि बनाइयो ।  उनले अहम् युद्धमा कर्णलाई हतोत्साहित गर्न कुनै कसर बाँकी राखेनन् ।  यो मात्र होइन, हरेक दिन युद्ध समाप्तिपछि उनी जब शिविरमा हुन्थे त्यतिबेला  कौरवहरूलाई हतोत्साहित गरिरहन्थे ।

कृपाचार्य 

कृपाचार्य चीरन्जीवी हुन् अर्थात् उनी अहिलेसम्म पनि जीवित छन् भन्ने विश्वास गरिन्छ । गौतम ऋषिका पुत्र शरद्वान र शरद्वानका पुत्र कृपाचार्य हुन् ।  कृपाचार्य महाभारत युद्धमा कौरवका तर्फबाट लडेका थिए भने युद्धपछि बाँच्न सफल  १८ जना महायोद्धामध्ये एक थिए ।

कृपाचार्यको आमाको नाम नामपदी थियो र उनी देवकन्या थिइन् ।  कृपाचार्यको बहिनीको नाम कृपी थियो र कृपीको विवाह गुरु द्रोणका साथ भएको थियो ।  तिनै कृपीका छोरा थिए, अश्वत्थामा । यसरी कृपाचार्य अश्वत्थामाका मामा थिए । मामाजस्तै भान्जा अश्वत्थामा पनि चिरन्जीवी थिए, मामाभान्जा मिलेर युद्धमा विपक्षीको सातो खाएका थिए ।

कृपका पिता धनुर्विद्यामा साह्रै विख्यात थिए ।  पिताबाट शिक्षा पाएका कृप पनि आफ्ना पितासमान पारंगत थिए । भीष्मले यिनलाई पाण्डव तथा कौरवको शिक्षा-दीक्षाका लागि नियुक्त गरेका हुनाले उनी  कृपाचार्यको नामले विख्यात भए । महाभारत युद्धपछि यिनी पाण्डवहरूसँगै बसे । पछि यिनले अर्जुनका नाति परीक्षितलाई  अस्त्रविद्या सिकाए ।

युद्धमा द्रोणचार्य, कृपाचार्य र अश्वत्थामा ब्राहृमण भएर पनि भयंकर योद्धा थिए ।  राति निदाएका पाण्डव पक्षका योद्धालाई अश्वत्थामाले मार्ने क्रममा कृतवर्मा र कृपाचार्यले पनि साथ दिएका थिए ।  उनलाई यो कुराको पछुतो पनि भएको थियो ।

श्रीकृष्ण 

भगवान् श्रीकृष्ण अर्जुन पुत्र अभिमन्युका मामा थिए ।  पाण्डवलाई महाभारत युद्धमा जीत कृष्णले नै दिलाएका थिए । उनी सबै कुरा जान्दथे, चाहेका भए रोक्न सक्थे, तैपनि उनले अभिमन्युलाई चक्रव्यूहमा जाने वातावरण बनाइदिए ।  जयद्रथ सहित ७ योद्धाले युद्धको नियम तोडेर अभिमन्युको निर्मम हत्या गरे।  श्रीकृष्ण यही चाहन्थे । जब नियम एकपटक एक पक्षले तोड्छ, अर्को पक्षका लागि त्यो नजिरले काम गर्छ । यही कुरालाई उनले कर्णको वध गर्ने क्रममा समेत प्रयोग गरे ।

भगवान् श्रीकृष्णकै कारण दुर्योधनको जाँघ कमजोर भयो ।  कर्णको कवच कुन्डल मागियो ।  बर्बरीकको शिर काटियो ।  उनैको चालका कारण कर्णको एक मात्र अमोघ अस्त्र घटोत्चकमाथि चलाइयो ।  उनकै  चालका कारण भीष्म, द्रोण र जयद्रथको वध सम्भव भयो । महाभारत  युद्धमा जे जति कुरा भए ती सबै श्रीकृष्णकै इच्छाले भयो ।

यसरी माथि उल्लेख भएका मामाहरूका कारण नै महाभारतको सम्पूर्ण कथाक्रम रचना भयो। अँ, अर्का एकजना मामा थिए, जसको नाम थियो, धृष्टद्युम्न थियो । उनी द्रौपदीका दाजु तथा द्रौपदीका  पाँच पुत्रका मामा थिए ।  द्रोणको हातबाट द्रुपद तथा विराट मारिएपछि भीम र धृष्टद्युम्न मिलेर द्रोणलाई भ्रममा पारी अस्त्रशस्त्र त्याग्न लगाइयो । यसै  अवसरको लाभ उठाएर धृष्टद्युम्नले द्रोणको टाउको छिनाले ।  यद्यपि अन्तमा धृष्टद्युम्नले आफ्ना भान्जाहरूलाई बचाउन सकेनन् । अश्वत्थामाले धृष्टद्युम्न तथा उनका पाँचजना भान्जाको वध गरिदिए ।