फास्ट ट्रयाक रेखांकनमा परिवर्तन, आयोजनाको लागत १ खर्ब ७५ अर्ब

काठमाडौँ,

सरकारले काठमाडौं–तराई द्रुतमार्गको स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले प्रस्ताव गरेको रेखांकनमा परिवर्तन गरेको छ ।

प्रस्तावित द्रुतमार्गको रेखांकनमा खोकना र सुरुङमार्ग निमार्ण हुने ठिंगल–लेनडाडा क्षेत्रमा संसोधन गरेको हो । नेपाली सेनाले बुधबार पत्रकार सम्मेलन गरी खोकनाको सिकाली मन्दिर र कोदेश क्षेत्रमा सामान्य रेखांकन परिवर्तन गरेको जनाएको छ । साथै, महादेवटारदेखी लेनडाडासम्मको खण्डमा एसियाली विकास बैंकले प्रस्ताव गरेको टनेलको विकल्पमा एक तथा नयाँ थप दुई टनेलहरु सहित रेखांकन परिर्वतन गरेको जनाएको छ ।

खोकनाको विवाद मिलाउनका लागि सरकारले दुई स्थानको रेखांकन परिर्वतन गरेको हो । कोरियाली कम्पनी सुसुङले ७ करोड ४५ लाख ९० हजार रुपैयाँ लागतमा तयार गरेको डीपीआर प्रतिवेदन रक्षा मन्त्रालयले मन्त्रीपरिषदमा पेश गरेको पाँच महिना पछि अर्थात गत भदौ एक गते स्वीकृत भएको थियो । स्वीकृत डीपीआर प्रतिवेदन अनुसार सडक चार लेनको हुनेछ भने लम्बाई ७२ दशमलव ५ किलोटिर तथा सडकको चौडाई पहाडमा २५ मिटर र तराईमा २७ मिटर हुनेछ ।

द्रुतमार्ग ललितपूरको खोकनादेखि काठमाडौं, मकानपुरहुदै बारा जिल्लाको निजगढमा पुगी महेन्द्र राजमार्गमा जोडिनेछ । यस्तै, द्रुतमार्गमा विशेष प्रकृतिका १६ र अन्य ७१ वटा गरी १० दशमलव ५९ किलोमिटरको ८७ वटा पुल निमार्ण हुनेछन् । तीन वटा सुरुङमार्ग निमार्ण हुनेछन् । महादेवडाँडामा ३ दशवलव ३५, धेद्रेमा १ दशमलव ३६ र लेनडाँडामा १ दशमलव ४३ गरी ६ दशमलव ४१ किलोमिटर लामो सुरुङमार्ग निमार्ण हुनेछ । यसमध्ये हालसम्म २५ दशमलव ४४ किलोमिटर खण्डको सवग्रेड फर्मेसन लेभलमा काम भएको छ भने झण्डै २७ किलोमिटर क्षेत्रका काम भइरहेको सेनाले जनाएको छ ।

द्रुतमार्गको स्वीकृत डीपीआर प्रतिवेदन अनुसार तीन स्थान खोकना, बुदुने र निजगढमा इन्टरचेन्ज अर्थात् गाडी फर्काउने स्थान र टोल प्लाजा (कर संकलन केन्द्र) हुनेछन् । यस्तै, अन्य संरचनाहरुमा १२ ठाउँमा यात्रीको लागि अन्डरपास, पाँच ठाउँमा गाडीको लागि अन्डरपास, एक ठाँउमा यात्रीको ओभरपास र ४ ठाँउमा गाडीको लागि ओभरपास निमार्ण हुनेछ । खोकनादेखि निजगढसम्मको यात्रा १ घण्टा २ मिनेट ३३ सेकेन्ड लाग्ने सेनाले जनाएको छ । द्रुतमार्ग आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ । मूल्य अभिवृद्धि करसहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको सेनाले जनाएको छ । सनाले द्रुतमार्ग निमार्णको काम ३ वर्ष ६ महिनाभित्र सम्पन्न गर्ने पनि जनाएको छ ।
कारोबारबाट