आगामी निर्वाचनपछि ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैन -विष्णु पौडेल

आगामी निर्वाचनपछि ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैन -विष्णु पौडेल


नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन् । 

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका उपाध्यक्ष पौडेलले देशलाई संकटको भूमरीबाट जोगाउनका लागि, समृद्धि र समाजवादको यात्रालाई अघि बढाउनका लागि आगामी निर्वाचनपछि ओली नेतृत्वको एमाले सरकार बन्नुपर्ने जिकीर गरे । 

बिहीबार रुपन्देहीको क्षेत्र नम्बर ५ मा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले एमालेको विजयीलाई सुनिश्चित हुनेगरी निर्वाचनको काममा खटिन पनि स्थानीय नेता, कार्यकर्तालाई निर्देशन दिए । 

उपाध्यक्ष पौडेलले भने, ‘देशलाई संकटको भूमरीमा जानबाट जोगाउनका लागि, विकास, समृद्धि, सामाजिक न्याय र समाजवादको यात्रा तय गर्नका लागि नेकपा (एमाले)को जीत अपरिहार्य छ । नेकपा एमालेको नेतृत्वमा हामीले पार्टीबाट संस्थागत निर्णय गरेर हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका छौं । कमरेड केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण गरेर अगाडि बढ्नुको कुनै विकल्प हामीसँग छैन । त्यस अर्थमा म कमरेडहरुलाई के आग्रह गर्न चाहन्छु भने इतिहासतिर फर्केर होइन् आजको जगमा उभिएर यो भोलीको अभिभार खासगरी मंसीर ४ गतेको अभिभार पूरा गर्ने हिसावले यो निर्वाचनमा प्रतिनिधिसभामा र दुवै प्रदेशसभामा पार्टीको जीत सुनिश्चित हुने हिसावले तपाईहरु उत्साहका साथ लाग्नुहोस् भन्ने म हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छु ।’

Logo