कतै तपाईं यी कारणका पछि लागेर विवाह गर्दै त हुनुहुन्न ? हुनसक्छ गम्भीर भूल !

३० वर्ष कटिसक्यौ, बिहे कहिले गर्छौ ? धेरै पाकेपछि झरिन्छ नि ! विवाह गर्ने उमेर भइसकेको छ तर विवाह गरिएको छैन भने धेरैले यस्ता प्रश्न एवं ताना सुन्नुपरेको होला । कतिपय अवस्थामा त विवाह गर्नका लागि यति धेरै दबाव दिइन्छ कि लौ जे त पर्ला भनेर मानिसहरू विवाह बन्धनमा बाँधिन्छन् ।

सनातन मान्यतामा विवाह भनेको केवल औपचारिकता होइन, यो दुई आत्मा मिलेर एक हुने कुराको प्रतीक हो । तसर्थ विवाह निकै सोचविचार गरेर मात्र गर्नुपर्छ ।

यहाँ केही त्यस्ता कारणहरू बताइएको छ जसलाई आधार मानेर विवाह गर्दा मानिस भुमरीमा फस्ने डर रहन्छ । यस्ता कारणका पछि लागेर विवाह गर्नु जीवनकै गम्भीर गल्ती बन्नसक्छ ।

ब्रेकअपको पीडाबाट मुक्त हुन

कतिपय व्यक्ति आफ्नो पछिल्लो सम्बन्ध वा प्रेमीप्रेमिकासँग भएको बिछोडको पीडा भुल्नका लागि विवाह गर्छन् । उनीहरू विवाहलाई पीडा कम गर्ने मलमका रूपमा प्रयोग गर्न चाहन्छन् । जब कि यस्तो खालको प्रयोग आफ्नै लागि घातक हुनसक्छ ।

जेठो सन्तान भएकाले

हामीकहाँ जेठो सन्तानमाथि विवाहको दबाव बढी हुन्छ । अझ यस्तो दबाव छोरालाई भन्दा छोरीलाई बढी हुन्छ । अझ उसका पछाडि समानजस्तै उमेरका भाइबहिनी छन् भने त दबाव खपिसाध्य हुँदैन । यसमाथि परिवारका अग्रजहरूलाई नयाँ पारिवारिक सदस्यको आगमन छिटो भए रमाइलो हुन्थ्यो भन्ने लाग्छ । अनि उसलाई विवाह गर्ने चर्को दबाव दिइन्छ भलै ऊ जिम्मेवारी वहन गर्न तयार नभएकै किन नहोस् ।

साथीसँगातिको दबाव

आफ्ना सबै साथीसँगातिको विवाह भइसक्यो, कतिका त बालबच्चा पनि भइसकेका छन् भन्ने सोचेर विवाह गरियो भने त्यो निर्णय घातक हुनसक्छ । यस्तो अवस्थामा विवाह गर्न हतारिनुभन्दा आवश्यक परे साथी नै फेर्ने हिम्मत राख्नु बुद्धिमानी हुन्छ । विवाह भइसकेका साथीहरूको अवचेतनमा आफ्नो साथी पनि छिट्टै वैवाहिक सम्बन्धमा फसोस् भन्ने हुन्छ ।

समय फुत्कँदै छ

एउटा निश्चित उमेरमा पुगेपछि के लाग्छ भने अब छिटै विवाह गरिहाल्नुपर्छ किनभने समय बितेपछि शरीरले पनि साथ दिँदैन । यस्तो विचारले विवाह गर्दै हो भने पुनर्विचार गर्नु आवश्यक छ । समय फुत्कन लाग्यो भन्दैमा हतारिएर विवाह गर्नु राम्रो होइन, समय पर्खेर भए पनि त्यस्तो व्यक्ति फेला परेपछि मात्र विवाह गर्नुपर्छ जसले आफूलाई बुझ्छ ।

सामाजिक हैसियत एवं आर्थिक सुरक्षणका लागि

कतिपय व्यक्ति सामाजिक हैसियत बढाउन तथा भविष्यमा आर्थिक सुरक्षा सुदृढ बनाउनका लागि विवाह गर्छन् । यसरी विवाह गर्नु सरासर मूर्खता हो । यसरी विवाह गर्नेहरूले केही समयपछि नै महसुस गर्न थाल्छन् कि पैसाले खुसी खरिद गर्न सकिँदैन ।

किनभने यो एउटा परम्परा हो

धेरै मानिसले यसकारण पनि विवाह गर्छन् कि यो हाम्रो पुरानो परम्परा हो र समाजका सबैले यसो गरेका छन् । यस्तो कुनै नियम छैन जसका आधारमा सबैले अनिवार्य विवाह गर्नै पर्ने होस् । सममाजमा त्यस्ता थुप्रै व्यक्ति छन् जो अविवाहित रहेर पनि हाँसिखुसी जीवन बिताइरहेका छन् । त्यसैले यस्तो कारणलाई आधार बनाएर विवाह गर्नु सबैभन्दा ठूलो बेवकुफी हुनसक्छ ।