मिडिया काउन्सिल विधेयक पेश
फाइल तस्बिरः राष्ट्रियसभाको बैठक ।

नेपाल मिडिया काउन्सिल विधेयक २०७५ संघीय संसदको राष्ट्रिय सभामा पेश गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विधेयक पेश गरेका हुन् । विधेयक पेश गर्दै मन्त्री बाँस्कोटाले सबै खाले मिडियाको अनुगमन गर्ने अधिकार मिडिया काउन्सिललाई हुने गरि विधेयक ल्याइएको बताए । उनले विधेयकमा उल्लेखित दण्ड जरिवानाको विषयलाई अदालति विषय बनाउने भन्ने बारेमा सोच्न सकिने र केही नमिलेका कुराहरु छलफलका क्रममा मिलाउन सकिने बताए ।

मन्त्री बाँस्कोटाले सरोकारवालासंग छलफल गरेर विधेयकमा आवश्यक परिमार्जन गर्न सकिने प्रतिवद्धता जनाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले दर्ता गराएको विरोधको सूचना फिर्ता लिएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक भोली शुक्रबार बिहान ११ बजेका लागि बोलाईएको छ ।