पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ मा हुने

काठमाडौं,

बहुचर्चित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ गते हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सो पाइपलाइनको उद्घाटन गर्नुहुनेछ ।

पाइपलाइनका परियोजनाका प्रमुख प्रदीपकुमार यादवले दुवै मुलुकका प्रधानमन्त्रीले भदौ २४ गते ‘हाइटेक’ प्रविधिबाट सो पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुहुने मिति तय भएको जानकारी दिनुभयो । उद्घाटनपछि उक्त पाइपलाइनबाट नियमित इन्धन आपूर्ति हुने जानकारीसमेत उहाँले दिनुभयो ।

प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासबाट र भारतीय समकक्षी मोदीले नयाँदिल्लीस्थित प्रधानमन्त्री निवास हैदरावाद हाउसबाट एकैसाथ रिमोट थिचेर पाइपलाइनको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ ।

रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगञ्जस्थित डिपोको युनिटको भल्ब खुल्नेछ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेलको आपूर्ति सुरु हुनेछ । यसअघि नै सो पाइपलाइनको सफल परीक्षण भइसकेको छ ।
गोरखापत्रबाट