डेंगु सरकारको नियन्त्रणबाहिर

काठमाडौं,

प्राणघातक रोग डेंगुको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभएको अवस्थामा यसले विकराल रूप लिने आशंका बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण आफ्नो एकल प्रयासबाट सम्भव नरहेको समेत प्रस्ट पारेको छ । डेंगु नियन्त्रणभन्दा त्यसको प्रकोप बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि आमनागरिकसमक्ष आग्रह गरेको छ ।

डेंगुको प्रकोप यसरी बढिरहेको छ कि पछिल्लो ४० दिनको अवधिमा १ हजार ५३७ जना यसबाट प्रभावित भएका छन् । २०७०/७१ मा ३ सय २ जना, २०७१/७२ मा १३४ जना, २०७२/७३ मा १ हजार ५२७ जना, २०७३/७४ मा २ हजार १११ जना, २०७४/७५ मा ८११ जना, २०७५/७६ मा ३ हजार ५२५ जना डेंगुबाट प्रभावित भएकोमा चालू आर्थिक वर्षको ४० दिनमा १ हजार ५३७ जना यसबाट प्रभावित भइसकेका छन् ।

४० दिनको अवधिमा प्रदेश नम्बर १ मा सबैभन्दा धेरै ५६३ डेंगुका बिरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै प्रदेश नम्बर २ मा १४ जना, प्रदेश ३ मा ५५९ जना, गण्डकी प्रदेशमा ३३९ जना, प्रदेश ५ मा ५६ जना र सुदूरपश्चिम प्रदेशमा ६ जना डेंगुका रोगी भेटिएका छन् । यसरी हेर्दा यो संख्या महिनामा ५ सयले बढ्दै जाने देखिन्छ ।

स्वास्थ्य मन्त्रालयले दुई महिनाको अवधिमा १ हजार ५३७ जनामा डेंगु देखिएको र पीडितको संख्या बढ्दै गएको जनाएको छ । डेंगुबाट हालसम्म ३ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले डेंगु नियन्त्रणका लागि घरबाटै सरसफाइ अभियान थाल्नसमेत अनुरोध गरेको छ । डेंगु महामारीका रूपमा फैलिएपछि मन्त्रालयले घरआँगन सरसफाइबाटै नियन्त्रणमा लाग्न आमनागरिकलाई आग्रह गरेको हो ।
राजधानीबाट