वेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

काठमाडौं,
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा यो दिवस प्रत्येक वर्ष ३० अगस्टका दिन मनाउने गरिएको छ । दिवस मनाउने क्रम सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट सुरु भएको हो ।

गोप्य तवरले थुनामा राख्ने वा बेपत्ता बनाइने कार्य मानवाधिकारको ठाडो उल्लङ्घन हो । अन्तर्राष्ट्रिय रूपमा कार्यरत मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालय, रेडक्रस, अन्तर्राष्ट्रिय समिति जस्ता संस्थाले यसबारे विश्वव्यापी रूपमा अभियान गरेर सरकार र विद्रोहीलाई दबाब दिइरहेका छन् ।

 

नेपालमा १० वर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र तत्कालिन विद्रोही माओवादीबाट ठूलो सङ्ख्यामा नागरिक बेपत्ता पारिएको थियो । २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारलाई जानकारी गराउने भनि गरिएको प्रतिबद्धता १३ वर्ष पुरा हुँदा पनि पूरा भएको छैन । द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि गठित आयोगमा अहिलेसम्म दुई हजार ८ सय ६४ उजुरी परेको छ ।

यसैबीच वलपूर्वक वेपत्ता पारिएका सबै व्यक्तिहरुको संरक्षण सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी २००६ मा हस्ताक्षर गरी नेपाललाई पक्ष राष्ट्र बनाउन माग गर्दै शान्तिका लागि नागरिक समाज सञ्जालको संयोजनमा इन्सेक लगायत १२ वटा संघ–संस्थाहरुले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र समेत बुझाइएको छ ।

वेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । सशस्त्र द्वन्दका अवधिमा ३ हजार भन्दा बढी नागरिकहरुलाई जबरजस्ती बेपत्ता पारियो भने लगभग १७ हजार भन्दा बढी नागरिकको निर्मम हत्या भएको थियो ।