चाईनिजलाई श्रीमान बनाएर नेपाली युवतीको तस्करी

काठमाडौं । विवाहको प्रलोभनमा नेपाली युवतीलाई चीनमा तस्करी गर्ने गिरोह पक्राउ परेको छ । प्रहरीको मानव बेचबिखनविरूद्धको ब्यूराले ६ नेपाली र ४ जना चिनियाँ नागरिक गरी १० जनालाई पक्राउ गरेको हो । ४ नेपाली महिलाको उद्दार समेत गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकाटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे छन् । भने पक्राउ पर्ने चिनियाँ नागरिकमा जेङ सियाङ डोङ, ज्याङ डोङ हुइ, क्वान ग्याङ पिङ र क्वीन लियाङ छन् ।

चिनियाँ नागरिकले नेपाली युवतीसँग अदालती विवाह गरेर विवाह दर्ता समेत बनाएर चीन लैजादै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको ब्युरोका प्रमुख एसएसपी ईश्वर कार्कीले जानकारी दिए । उनीहरूको साथबाट प्रहरीले १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र १ सय ९० अमेरिकी डलर समेत बरामद गरिएको छ ।

चाईनिजहरू पाँच दिनको लागि मात्र नेपाल आएका थिए । नेपाली दलालको सहयोगमा नेपाली युवतीसँग कानूनी रुपमै विवाह गरेर चीन लैजादै थिए । ‘‘पाँच दिनका लागि मात्र नेपाल आएका चिनियाँले नेपाली दलालको सहयोग नेपाली महिलासँग कानुनी रुपमै विवाह गरेको देखियो । चिनजान नै हुन नपाउँदै विवाह हुनु, एकअर्काको भाषासमेत नजान्नु लगायतका कुरा थाहा पाएपछि हामीले अनुसन्धान सुरु गर्दा चीनमा यौनदासी बनाउनका लागि लगिने गरेको खुल्यो ।’’ एसएसपी कार्कीले भने । उनीहरूले नेपालबाट चीन लैजाने र घरेलु कामदारका रुपमा राखेर यौनदासी बनाउने योजना रहेको खुलेको छ ।

विभिन्न जिल्लाहरूबाट पारिवारिक तथा आर्थिक अवस्था कमजोर भएका युवतीहरुलाई चिनियाँ नागरिकसँग विवाह गरी चीन गएमा जीवनशैली राम्रो हुने, चिनियाँ पासपोर्ट प्राप्त गर्ने, परिवारले समेत आर्थिक लाभ प्राप्त गर्ने भनी प्रलोभन देखाउने गरेको कार्कीको भनाई छ ।

प्रहरीका अनुसार एक युवतीलाई विवाह गराएबापत काठमाडौंमा रहेको चिनियाँ दलालले १० लाख सम्म, काठमाडौंको नेपाली दलालले १–२ लाख, युवतीहरु राख्ने नेपाली दलालले ८० हजार, अभिभावकले ५० हजार रुपैयाँसम्म पाउने गरेका छन् ।