कोरियाली सहयोगमा पोखराको यातायातलाई हरित प्रणालीमा विकास गरिने

कोरियाली सहयोगमा पोखराको यातायातलाई हरित प्रणालीमा विकास गरिने


पोखराको यातायात प्रणालीलाई हरित प्रणालीमा विकास गर्न प्रक्रिया सुरु भएको छ ।

कोरियाली विज्ञहरूको टोली र पोखरा महानगरपालिकाबीच हरित यातायात प्रणालीबारे छलफल गरिएको छ । छलफल पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्ने विषयमा केन्द्रित थियो । परियोजनाअन्तर्गत कोरियाले पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने सहमति भएकाे छ । पाँच दिनसम्म पोखरामा रहेको टोलीले यहाँको सार्वजनिक यातायात र यसको रुटबारे स्थलगत अध्ययन गरेको छ ।

टोलीका प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्युन किमले पोखराका ८४ वटा बस रुटहरूमा एक हजार दुई सय ८६ स्थानमा बस स्टप निर्माण गर्ने जानकारी दिए । तीन ठाउँमा बस टर्मिनल निर्माण गरिने छ । उक्त खर्चको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुने किमले जानकारी दिए । तीन चरणमा सबै काम पूरा हुने छ । पहिलो चरणमा २०२५ सम्म सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक काम सक्ने योजना छ । दोस्राे चरणमा २०३० सम्म हरित यातायात प्रणालीको विकास गर्ने र तेस्राे चरणमा २०३५ सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिने छ ।

Logo