पूर्वमन्त्री नेपालीको निधन

महोत्तरी,

महोत्तरीबाट पूर्व युवा तथा खेलकूदमन्त्री रहनु भएका गणेश तिवारी नेपालीको शुक्रबार साँझ निधन भएको छ । जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा शुक्रबार ७६ वर्षको उमेरमा निधन भएको उहाँका छोरा बजरंग नेपालीले बताउनुभयो ।

वि.सं २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीबाट महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर उहाँ तत्कालीन प्रधानमन्त्री माधव नेपालको नेतृत्वको सरकारमा युवा तथा खेलकूदमन्त्री रहनुभएको थियो । पाँच वर्ष पहिले पक्षघात तथा विगत एक वर्षदेखि अर्बुद रोगबाट ग्रसित रहनु भएका मन्त्री नेपालीको मृत्युले समग्र जिल्ला शोकमग्न बनेको छ ।

वि.सं १९९९ मा जन्मनु भएका मन्त्री नेपाली २०२७ सालमा राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँले वि.सं २०४४ सालमा नेपाली काङ्ग्रेसको जिल्ला सभापति भई २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जिल्लाको मुख्य कमाण्डर नै भएर काम गर्नुभएको थियो । उहाँले वि.सं २०५२ मा काङ्ग्रेस छाडेर एमाले र २०६४ सालमा तमलोपा प्रवेश गर्नुभएको थियो । सोही बेला उहाँ चुनाव जितेर मन्त्री बन्नु भएको थियो । अहिले उहाँ नेपाली राष्ट्रिय जनता पार्टी नेपालमा आबद्ध रहनुभएको थियो ।
रासस