अपहरणकारीको त्यो फोन, ‘मेरी श्रीमती नल्याए छोरा मारिदिन्छु’

सिरहा । भारतको सितामढी घर भएका शोभित मुखियाकी श्रीमती भदौ २ गते सिराह कर्जन्हा नगरपालिका ३ बाट एकाएक घरबाट वेपत्ता भइन् । वेपत्ता भएको धेरैदिनसम्म पनि केही पत्तो लागेन् । शोभितले श्रीमती सुरेखा मुखियाको खोजीका लागि भन्दै प्रहरीमा समेत उजुरी दिएनन् । बरू उनले श्रीमतीका फूपू फूपाजूमाथि श्रीमती भगाएको आरोप लगाए ।

शोभित र श्रीमती सुरेखा शंकर कार्कीको घरमा बस्थ्ये । त्यसअघि उनीहरू महोत्तरीमा बस्दै चटपटे बेच्थे । साउन महिनामा उनीहरू दुवैजना महोत्तरीबाट सरेर आएका थिए । त्यहाँ उनीहरू फूपू र फूपाजजू समेत बस्थे । भदैनी र ज्वाइँ आएको एक महिना मात्रै भएको थियो । भदैनी वेपत्ता भइन् ।

ज्वाइँले श्रीमतीलाई भगाएको आरोप उनीहरूमाथि लगाउन थाले । शोभित श्रीमती हराएपछि आक्रोशित हुन थाले। उनले बारम्बार आरोप लगाउँथे, ‘मेरी श्रीमती तिमीहरूले नै भगायौ।’ तर, ‘नखाएको विष लाग्दैन’ भन्दै फूपू सुखनीदेवी यादव र फूपाजू बच्चालाल यादवले उनको आरोप अस्वीकार गरिरहे।

शोभितसँग उनीहरूको सम्बन्ध त्यही घटनाले विस्तारै चिसिँदै गयो। न सुरेखा भेटिइन् न शोभितले आरोप लगाउनै छोडे। त्यसपछि शोभित धम्की दिन थाले, ‘मेरी श्रीमतीलाई नल्याए छोरो अपहरण गरिदिन्छु।’ नभन्दै भदौ १० गते पाँच वर्षको छोरा शिवम् यादव हराए । त्यसपछि सुखनी र बच्चालालले शोभितमाथि शंका गरे । उनैले बालक लगे भन्ने यकिन हुन एक-दुई घन्टा लाग्यो।

साँझ मोबाइलमा फोन गरेर शोभितले भने, ‘तिमीहरूको छोरा मैले अपहरण गरेँ। प्रहरीलाई खबर गरे मारिदिन्छु।’ भदौ १० गते दिउँसो शिवम्को अपहरण गरेका थिए । ज्याला मजदुरी गर्दै आएका बुवा बच्चालाल र आमा सुखनीदेवी छोरा हराएपछि तनावमा परे । सुखनीदेवी र बच्चालाललाई अब आपत्त आइलाग्यो। प्रहरीलाई भनौं छोरो मारिने डर, नभनौं अपहरण त भइसक्यो।

त्यो समस्यासँग जुध्दैगर्दा उनीहरूलाई छरछिमेकीले फकाए र प्रहरीमा फोन गर्न लगाए। राति ९ बजे जिल्ला प्रहरी कार्यालयमा खबर गरियो । प्रहरीले खबर पाएलगत्तै तत्काल घटना भएको घरमा पुग्यो। शोभित पहिले बसेको क्षेत्र र सीमावर्ती क्षेत्रमा प्रहरी परिचालित गरियो ।

शोभितले बोक्ने मोबाइल नम्बर ‘ट्रेस’ गर्दै खोजी गर्न जिल्ला प्रहरी कार्यालय सिरहा र संघीय प्रहरी इकाई जनकपुरबाट प्रहरी परिचालन भए। प्रहरी सीतामढीसम्म पुग्यो। तर, शोभित भेटिएनन्। यता अपहरणकारी शोभितले बच्चालाल र सुखनीदेवीलाई फोन गर्न छोडेका थिएनन्। नेपाल तथा भारतको सीमकार्डबाट फोन गरेर भन्थे, ‘मेरी श्रीमती ल्याएको खबर पाउँ, नत्र बच्चा मारिदिन्छु।’

बच्चालाल र सुखनी प्रहरीलाई यही सुनाउँदै रोइकराइ गर्थे। प्रहरी झन् तनावको गहिराइमा पुग्थ्यो। साथसाथै, शोभित र बालकको खोजीलाई तीव्र पारिरहे । फोनको लोकेसन हेर्दै जाँदा बिहीबार प्रहरी टोलीले सर्लाही विष गाउँपालिका-५ मा देखियो । त्यही गएर प्रहरीले बालकको उद्दार गर्दै शोभितलाई नियन्त्रणमा लियो ।

दुई दिनको अथक प्रयासपछि प्रहरीलाई सफलता मिलेको थियो । शोभितले बालकलाई धनुषा, महोत्तरी, भारत सीतामढी हुँदै पुनः सर्लाही ल्याएका थिए । शोभितले पहिले बालकलाई धनुषाको पोताहा लगेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । त्यसपछि उनले महोत्तरीको बर्दीबास, राम गोपालपुर, भितामोड हुँदै भारत सीतामढी लगेका थिए। बिहीबार बिहान सीतामढीबाट सर्लाही फर्किएका थिए। बालकलाई लिएर सर्लाही आउने क्रममा नेपाल-भारत सिमानाको विष्णु गाउँपालिका वडा नम्बर ५ बाट प्रहरीले समातेको थियो।

बिहीबार उद्धारपछि अपहरित बालकको स्वास्थ्य परीक्षण गर्दा उनी सामान्य अवस्थामा रहेको बुझिएपछि शुक्रबार आफन्तको जिम्मा लगाइएको बोहराले बताए। शोभितलाई अपहरण तथा शरिर बन्धक मुद्दामा अनुसन्धान थालिएको छ । शोभित बालकलाई अपहरण गरेर आफ्नी श्रीमती फर्किने आशमा थिए । धेरैसमय बालकलाई नराखेर मार्ने योजनामा थिए । तर प्रहरीले योजना सफल हुन दिएन् ।

सितामढीबाट महोत्तरी आएर चटपटे बेच्ने क्रममा शोभित र सुरेखाको चिनजान भएको थियो। केही समयको चिनजानपछि उनले सुरेखालाई बिहे गरेका थिए। त्यसअघि सुरेखा अर्कैकी श्रीमती थिइन्। प्रहरीले सुरेखा कहाँ गइन् भन्नेबारे पनि अनुसन्धान थालेको छ ।

आफ्ना पूर्वपतिसँग गइन् कि भनी प्रहरीले अनुसन्धान गर्दा त्यहाँ पनि नभेटिएपछि सो घटनाको वास्तविकता पत्ता लगाउन जटिल बन्दै गएको प्रहरीले जनाएको छ । प्राय जसो अपहरणका घटना फिरौतीका लागि हुने गरेका छन् । तर यो घटना श्रीमती फिर्ता गराउन दबाब दिँदै बालकको अपहरण गरेकोले नयाँ घटना भएको डिएसपी बोहराको भनाई छ ।