कथा: पागल
  • अर्जुन थापा-

मन्दिर र भगवान । म उनीहरुलाई भेटेर पाप पखाल्न होइन, उसलाई हेरेर आफूलाई चिन्न गएको थिएँ । तर पिपलबोटबाट मालीगाउँ कटिसक्दा पनि देखिन । यो एरिया उसको अखडा हुने गथ्र्यो । आजै नदेख्नुको कारण के हुन सक्छ होला ? दिमागमा अनेकौं कुराहरु खेल्न थाल्छन् । के भयो ? कहाँ गयो ? आजै नदेख्नुको कारण ? केही पो भयो कि ? अनेकौं प्रश्नहरुले दिमागलाई घेर्न थालीरहेकै बेला टाढैबाट मेरोतर्फ आउँदै गरेको देखेपछि अघिसम्म खेलेको प्रश्नहरु हराई हाले । केही सन्तोष अनुभव गरे ।

अब अगाडि ?

सदा झैं ऊ मेरो अगाडि पर्नासाथ देब्रेहात अगाडि बढायो । देब्रेहात बढाउनुको कारण दाहिने हातले झर्नै लागेको आधी च्यातिएको सुरुवाल समातिरहेको थियो ।
‘फेरि रक्सी खाने होला होइन ?’ दशको नोट दिँदै सोधे मैले ।

पैसा हिलै हिलो लागेको सर्टको आधि च्यातिएको नाम मात्रको खल्तिमा हालेको जस्तो गरेर टाउको कन्याउँदै बाटोमा फालेको चुरोटका ठुटा खोज्दै अगाडि बढी हाल्यो । यिनलाई प्रायः तीन चिज गरिरहेको देख्ने गरेको छु मैले । पहिलो, बाटामा फालिएको चुरोटका ठुटाहरु बटुल्दै हिँडेको । दोस्रो, बाटोमा भेटे जतिलाई पैसा माग्दै गरेको । र तेस्रो, पन्जा लगाएकै हातले बाटोमा बसेर भात अथवा चाउमिन खादै गरेको ।
पछि पछि लागे उनले थाहा नपाउने गरी । यिनको बारेमा धेरै सुनेको थिए । अझ मलाई यहासम्म डो¥याउनुको मुख्य कारण भनेकै यिनको प्रेम, बिछोड र यिनको यो हालतको बारेमा जान्नु थियो । एउटा कथाको लागि विषय वस्तुको खोजीमा थिए म र अर्को समय प्रसस्त थियो मसंग, बेरोजगार जो थिए ।

मन्दिरबाट आएको घन्टीका आवाज र धुपका बास्नाहरुले सुन्दर बिहानीलाई झन मनमोहक बनाईरहेको थियो । उदाउँदै गरेको सूर्यको किरणमा रमाइरहेका चराहरु जो सुन्दर ध्वनीका साथमा आआफ्नै तालमा नाचिरहेका थिए । तिनीहरुलाई देख्दा मनमा शान्ति अनुभव गर्दै गर्दा उनी मेरो आँखाबाट ओझेल भई हाले । उनको अखडालाई दुई फन्का मार्दा समेत उनलाई देख्न सकिन ।
“यसलाई विगत ६–७ वर्षदेखि देख्दै आएको छु । पागल भएतापनि सबैलाई गाली गर्दै हिडेन । मुखमा जे पायो त्यही बोल्ने खालको पटक्कै छैन । इशाराको भरले नै भोक लाग्यो भन्छ । बचेको जे छ त्यही लगेर दिन्छु । खाएर आफ्नो बाटो लागिहाल्छ ।” होटलको साउनीले मःम खादै गर्दा बताईन् मलाई ।
‘इन्जिनियर थियो रे यो । केटीले प्रेममा धोका दिएको भएर दिमागको फ्युज उडेको रे ।’ मेरै छेउमा संगै बसेर मःम खाँदै गरेको बुढाले भने ।
रबरलाई तन्काएको जस्तै गरी सबैले आआफ्नै तरिकाले बुट्टा भरेर सुनाउथे उनको मस्तिष्क विग्रनुका कारण । तर उनलाई नजिकबाट चिन्ने वा आफन्तबाट सत्य तथ्य थाहा पाउन पाएको भए चुरो के हो भन्ने थाहा हुन्थ्यो । जापानमा रहँदा धेरै होमलेसहरु देखेको छु । टाढाबाट हेर्दा बौलाह जस्तो देखिने खालका हुन्थे तर नजिक गएर तथा बोलेपछि नर्मल निस्कन्थे तिनीहरु ।

ट्रेनबाट बाहिर निस्कनासाथ मेरो नजर उनमा परि हाल्थ्यो । त्यहाँ अरु थुप्रै मान्छेहरु आउने जाने गरी रहेता पनि मलाई देख्नासाथ पैसाको लागि हात अगाडि बढाई हाल्थे । भएको बेला अलिक नै, छैन भने जति छ दिने गर्थे । उनले पैसा माग्ने र मैले दिने क्रम धेरै महिना नै चल्यो । तर एकदिन त्यही पेटीमा सुतिरहेको देखे मैले उनलाई । उनी सुतिरहेको छेउमै लगेर कफीको कप राखेर कामतिर हिँडे । त्यस दिनबाट उनी त्यँहा देखिन छाडे । तीन चार दिनसम्म नदेखेपछि छेउमै रहेको कोबान (पुलिस चौकी) मा गएर सोध्दा थाहा भयो कि उनको त्यसै दिन मृत्यु भएछ । मनमा खिन्न लागि रह्यो एक दुई दिनसम्म । आउने जाने क्रममा आँखाले उनलाई नै खोजीरहेको हुन्थ्यो ।

आफुलाई पनि पागल नै सम्झन्छु म । ति दुई (जापान र नेपालका) दिमागको सन्तुलन बिग्रेर पागल भए भने मनको सन्तुलन गुमेर अर्धपागल हुन पुगेको छु म अहिले । उनीहरु जथाभावी हिँडेर आफ्नो पागलपन देखाईरहेका थिए भने एक कोठामा आफुलाई बन्धक बनाएर सभ्य पागल भएको प्रमाण दिइरहेको छु । पागल त यहाँ सबै छन् जस्तो लाग्छ । ‘फूलको आँखामा पूmलै संसार’ भन्ने गीत जस्तै आफूलाई पागलको संज्ञामा राखेको हुँदा सबैलाई पागल देख्न थालेको पनि हुन सक्छ । एक मेन्टलले अर्को मेन्टलका बारेमा अनुसन्धान गर्दै हिँडीरहेको छु । हा.हा.हा. ! म एक्लै हाँस्छु । अरुले थाहा पाउलान् कि भनेर सचेत हुन्छु । अनि सोच्छु, म पूरै पागल भइसकेको छैन ।

एक रात साथीको भोजबाट घर फर्कदै गर्दा ठिक मालिगाउँको चोकको छेउमै रहेको पाटीमा बसेर केही लेहिरहेको अवस्थामा टाढैबाट उनलाई देखे । अलि अलि अलकोहलले रम रम भईरहेको मलाई, भ्रम परेको हो कि भनेर उनीतर्फ अगाडि बढ्दा लेखिरहेको कागजलाई झ्यार झुर पारेर च्यातेर खुट्टाले मरी मरी किल्चन थाले । सायद मलाई देखेर पनि होला वा अन्य पनि कारण हुन सक्छ त्यसरी च्यात्नुको कारण ।
घरमा आएर ओछ्यानमा पल्टिँदा समेत उनकै अघिका गतिविधि दिमागमा खेलीरह्यो ।

‘तँलाई खुशीको खबर सुनाउन फोन गरेको । तेरो मितज्यूको बारेमा नजिकबाट चिन्ने मान्छे फेला पारेको छु । बेलुका भेट्ने प्रोग्राम मिलाएको छु ।’ भन्दै कुमार फोन राख्छ ।

अब मलाई बेलुका कहिले होला भन्ने आतुर लाग्न थाल्यो । आज बेलुकाबाट एउटा पर्दा उघ्रिने छ । एउटा सद्दे व्यक्तिबाट पागलसम्मको यात्राको बारेमा सबै थाहा पाउने छु मैले । हरेक कुरालाई कागजमा उतार्नु पर्छ भनेर सबै बन्दोबस्तीका सामानहरु तयार पारेर ब्यागमा राखेर निस्के घरबाट ।

बोलाएको ठिक समयमा पुगे । सानो भट्टी पसलमा बसेर साथी ग्लासमा वियर खनाउँदै थियो । टेबलमा छोइला, चिउरा र अर्को प्लेटमा साधेको भटमास सजाइएको थियो । ग्राहकका नाममा म समेत गरेर तीन जना थियौं । ग्राहक नभएर होला साहुनीको अनुहार अँध्यारो थियो । तर मेरो चाही उज्यालो, कारण त्यहाँ अरुको होहल्ला विना मस्तले कुरा गर्न पाइने भयो भनेर । साथीले विस्तारै कुरा कोट्याउन थाल्यो ।
‘तपाइले कहिलेदेखि चिन्नु हुन्छ उनलाई ?’ प्रश्न गर्छ कुमार ।

‘सन्तोष हो उसको नाम जो पागलको रुपमा देख्नु हुन्छ तपाईहरुले । कलेजदेखिको साथी हो मेरो ऊ ।’

‘अनि यसरी बाटोमा साथीलाई पागल भएर हिँडेको देख्दा उनको लागि केही गरु जस्तो लाग्दैन तपाईहरुलाई ?’अब प्रश्न गर्ने पालो मेरो थियो ।
‘हामीलाई पनि अचम्म लागेको थियो । पहिलो पटक उसको यस्तो रुप देख्दा । सन्तोषको परिवार तथा हामीले धेरे सम्झाएको र उपचार पनि गरेका हौं । तर हामी सबैको प्रयास खेर गयो । उसले जानी जानी आफुलाई यो स्थितिमा ल्याएको हो ।’ वियरको चुस्की लगाउँदै भन्छन् उनी ।
‘केटीले धोका दिएर यस्तो भएको भनेर धेरैको मुखबाट सुनेको छु ।’ उनले चुरोट सल्काएको हेर्दै प्रश्न गर्छु म ।

‘सन्तोष र निलम दुईको प्रेमको उदाहरण दिन्थे कलेजमा । कुनै हिन्दी फिल्ममा पनि त्यस्तो सुन्दर जोडी देखेको छैन मैले । दुई जना एक अर्काप्रति यति डुबेका थिए कि कुरै नगरौं । दुवै जना पढाईमा अब्बल थिए । इन्जिनियरिङ्ग सक्काएर राजनीतिशास्त्र लिएर पढ्दै थियो सन्तोष । दुवै जनाका परिवारमा कुनै अवरोध थिएन उनीहरुको प्रेमलाई लिएर । सबै ठिक चल्दै थियो । पछि उनीहरुको विवाहलाई लिएर दुई जनाको चिना हेराउने क्रममा सन्तोषको चिनामा मंगल दोष बढी भएको भनेर निलमको घरबाट अवरोध गरे । हामीले गएर निलमको घरमा कति सम्झाएता पनि केही लागेन । अन्ततः दुई जना भागेर विवाह गर्ने निर्णय गरे ।’ अर्को बोतल बियर मगाउँदै उनले कुरा अगाडि बढाए ।
‘भनेपछि दुई जनाको प्रेमको विजय भयो ।’ कुमार खुशी हुँदै भन्छ ।

‘त्यसो भए यो अवस्था हुनुको कारण ?’ उनको सेतै फुलेको दाह्रीलाई हेर्दै प्रश्न गर्छु म ।

‘हामी साथीभाई मिलेर सबै व्यवस्था मिलाई दिएका थियौ बिबाहको । पोखराको मन्दिरमा दुई जनाले एक अर्काको गलामा माला लगाएर श्रीमान् श्रीमतीको रुपमा एक अर्कालाई स्वीकार गरेका थिए । खुब रमाइलो गरेका थियौ हामी साथीभाई भएर त्यस रात । उनीहरुलाई त्यही पोखरामा छोडेर हामीहरु फर्केका थियौ । केही समयपछि यो सुनेकी निलमको माइतीका मान्छे गएर उनलाई विवाह भएकै पर्सीपल्ट लिएर आएर हाँडीगाउँमा घर भएको केटासंग हतार हतारमा विवाह गरिदिए रे । पछि यो कुरा थाहा पाएर सन्तोष पनि त्यहि हाडीगाउँमै डेरा लिएर बस्न थालेछ । उनीहरु दुईको प्रेमको निशानीका रुपमा पेटमा बढ्दै गएको बच्चाको बारेमा घरमा थाहा पाएपछि निलमलाई घरमा दुःख दिन शुरु गरेछन् । यो कुरा सन्तोषले थाहा पाएपछि सबै थोक छोडेर उनीसंगै भागेर जानलाई धेरै पल्ट आग्रह पनि गरेका थिए रे । तर उनले अर्कै बाटो चाहि रोजिछन् ।’ ग्लासको वियरलाई स्वाट्ट पार्दै भन्छन् ।

‘के बाटो रोजिन् त ? कुमार वियरको नशाको तालमा जङ्गिन्छ । ‘मालीगाउँको चोक नपुग्दै एउटा रुख छ नि । देख्नु भएको छ ? हो, त्यहीँ झुण्डिएर आत्महत्या गरिन् निलमले । हामी सबै आएका थियौ । सन्तोषले पोखरामा लगाई दिएको औंठी माझी औंलामा टल्की रहेको थियो उनको । म संगै थियो सन्तोष तर आँखाबाट एक थोपा आँशु पनि बगाएन । बस एकटकले हेरि मात्र रह्यो ।’ अलिक अँध्यारो अनुहार पारेर भने उनले ।

एक क्षण पनि त्यहाँ बस्न मन लागेन अब मलाई । सबै छर्लङ्ग पनि भईसकेको थियो । पिएको वियरको नशा कता उडीसकेको थियो थाहा भएन । होटेलबाट बाहिर निस्कँदा झमक्क रात परिसकेको थियो । साँगुरो बाटोमा गाडीहरुको बेसुरो हर्नको ध्वनीले झन कुरुप बनाई दिईरहेको थियो साँझलाई । दिमाग र मन अघिका कुराहरुमा थिए भने आँखाले उनैलाई खोजीरहेको थियो ।

आज मलाई उनको पिछा गर्ने मन नभएर होला सोझै घरको सानो कोठामा आएर पल्टङ्ग पल्टि दिन्छु ।
दिमागबाट ति सब कुराहरु हट्न मानीरहेको छैन । उसै त निन्द्रा नलाग्ने भएको बेला अब झन के चाहियो र । यस्तै हुने हो भने त पुरै पागल हुन कतिबेर पनि लाग्दैन । टाउको फुट्ला जस्तो गरेर दुखीरहेको छ । औषधी नखाई ठिक होला जस्तो छैन । एक चक्की औषधी निलेर बलजफ्ती निदाउने कोशिस गर्न थाल्छु ।

बिहान आँखा खुल्दा घाम माथि आईसकेको रहेछ । केही खाएर निस्कन्छु उनी भएतिर । आज जसरी पनि भेटेर केही कुरा गर्छु । पैसा दिएर हुन्छ कि वा केही खाना दिएर । हाँडीगाउँको उकालो उक्ली सकेपछि कृष्णको मुर्तीमा ढोगेर बाहिर निस्की सोझै उनी प्राय बस्ने स्थानतिर लम्कन्छु । ‘कुरा गर्न खोज्दा सोझै झम्टिने पो हो कि । मेरो आकृति देख्ने वित्तिकै भाग्ने उनी खोई के कुरा गर्न सकिएला र । जे जस्तो भएपनि कुरा त गरि छाडछु’ मनमनै कुरा खेलाउँदै पुग्छु उनी भए स्थान तिर ।

त्यहाँ म पुग्नु अगावै मान्छेहरुका भिड देखे टाढैबाट । मन ढुक्क फुलेर आयो मेराा । लौ के भयो होला उनलाई भनेर सोच्दै मान्छेहरुको भिडलाई चिर्दै भित्र छिर्दा । कुकुर गुडुल्किएर सुते झै सुती रहेको जस्तो देखिन्थे । मुखबाट हल्का रगत बगेको जस्तो देखिन्थ्यो ।
‘बल्ल सुख पायो यसले अब, ’ एउटा बोल्यो ।

‘हैरान बनाईसकेको थियो म¥यो राम्रो भयो ।’ ‘अब माथि पुगेर दुई जनाको प्रेम शुरु हुन्छ ।’ अर्कोले भन्यो ।

एकजना ठिटो लौरोले उनको शरीरलाई तथा उनका पोको पारेर राखिएका लुगाहरुलाई कोट्याएर केलाउन थाल्छ । दिमाग पुरै बन्द भएको जस्तो भईरहेको थियो मेरो । भित्र कता कता केही पीडा भईरहेको थियो मलाई । केटोले लौरोले उनको लुगाहरु कोट्याउँदा फ्यात्त एउटा डायरी जस्तो भुईमा झर्छ । जुन चिजलाई कसैले वास्ता गरिरहेका थिएनन् । तर मेरो ध्यान भने त्यही डायरीमा गएर अड्किन्छ । सबैको नचरबाट बचेर उक्त डायरी टिपेर त्यहाँबाट निस्की दिन्छु म ।

००००

एकपटक पनि सोचेनौ कि त्यसरी छोडेर जाँदा सन्तोषको के होला भनेर ? राती यही पाटीमा हामी घन्टौ बसेका थियौ । तिमीले आफ्नै हातले मलाई खाना खुवाईदिएकी थियौ । तर के थाहा भयो र मलाई कि त्यो नै अन्तिम क्षण रहेछ तिमीसंग संगै बस्नु भनेर । कति उज्याली र राम्री भएर आएकी थियौ । हाम्रो माया तिम्रो पेटमा हुर्कीरहेको प्रमाण पुट्ट उठेको तिम्रो पेटले दिरहेको थियो । हामी एक हुन नसकेता पनि तिम्रो टोलमै रहेर र टाढैबाट तिमीलाई हेरेर मनलाई शान्त पारि रहेको थिए । तर किन मलाई बिचल्ली पारेर छोडेर गयौ तिमीहरुले ?’

‘यी सब मतलबीहरु बसोबास गर्ने समाजबाट सदाको लागि बिदा लिएर गयौ तिमी । तर दोस्रो विकल्प रोजे मैले । हरेक दिन आफुलाई मारेर बाँची रहने छु अबदेखि । तिम्रो सुरक्षा गर्न नसक्ने मैले केही त सजाय पाउनु नै पर्छ ।’

‘हिजो राती सपनीमा तिमीलाई देखे । कस्तो दुब्ली भइछौ । सायद मेरो ज्यादा चिन्ता लिएकी हौली । यस्तो दुई जिउकी भएको बेला शरीर र बच्चाको राम्रो ध्यान दिनुपर्छ । ठिक छु म । कुनै चिन्ता नलिनु मेरो ।’

‘हिजो राती तिम्रो घरका मान्छेहरु आएर सुतीरहेको ठाउँमा पिसाब फेरेर र हातपात गरेर गए । तर मलाई केही लागेन किनकी मैले सजाय त पाउनु नै पर्छ ।’

‘धेरै दिनपछि फेरि लेख्दैछु । थाहा छ हाम्रा साथी तथा घरबाट आएर मलाई लिएर गएका थिए । तर भागेर आएँ यही हाम्रो प्रिय ठाउँमा तिमीले अन्तिम पटक यही आएर मलाई माया गरेको र मबाट टाढा भएको ठाउँलाई कसरी छोड्न सक्छु होला त मैले ?’

‘तिमीलाई माया गर्ने थिइन नि साहुनी । उनी पनि सदाका लागि बिदा लिएर तिमी भएको ठाउँमा आइन् । अबदेखि मलाई कसले खाना दिन्छ र ?’

‘तिम्रा घरका मान्छेहरुले जासुस छोडेका छन् । हिजो राती लेख्दै गर्दा त्यसले देख्यो मलाई । तर चाडो चाडो च्यातेर प्रमाण नष्ट पारे ।’
‘हिजो राती फेरि आइनौ सपनीमा । सबै राम्रै त छ नि ? थाहा छ कुकुरले टोकेर कत्रो घाउ भएको छ मेरो खुट्टामा ।’

‘सबै भएर पिटे मलाई आज फेरि । मलाई जे जस्तो गरे पनि, भने पनि केही भनेको थिइन । तर तिम्रो नाम लिएर गाली गरेको सुन्दा सहन सकिन र ढुंगाले हानेर टाउको फुटाई दिए मैले पनि ।’

‘अब हाम्रो पुन मिलन हुने बेला आएको …. ।’

प्रत्येक पन्नामा रगतले लेखिएका अक्षरहरुलाई पढीरहँदा भगवानको लिलाप्रति रिस उठ्न थाल्छ । प्रत्येक रात अब ति पन्नाहरुका अक्षरहरुलाई नकेलाई निन्द्रा नै नपर्ने हुन थाली सकेको छ मलाई । प्रेम, बिछोड, पागल व्यक्ति र अब यी राता अक्षरहरुले भरिएका पन्नाहरु …..।

००००

‘हेर आफुलाई सुधार नत्र खत्तम हुन कति बेर पनि लाग्दैन ।’ कुमारले सम्झाउँदै भन्छ उसलाई । उसले चिनेको जस्तो गरेर एकटकले हेरिसकेपछि मिसिक्क हाँसेर अगाडि भुतभुत गर्दै जान्छ ।

‘हिजोसम्म पागलको बारेमा खोजी नीति गर्दै हिँड्थ्यो । आज आफै पागल भएर हिँड्छ । एउटा पागल बल्ल बल्ल मरेको थियो । अर्को नयाँ पागल देखा पर्यो ।

होइन यो टोलबाट पागलले पिछा छोड्ने भएन कि क्या हो ?’ ग्राहकलाई मःम दिँदै भन्छिन् साहुनी ।