गौहत्या छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति (विज्ञप्तिसहित)

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मृत भेटिएका गाईहरुको बारेमा छानबिन गर्न गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ।

शनिवार विज्ञप्ति जारी गर्दै मन्त्रालयले १५ दिनभित्र प्रतिवेदन दिन भनेको छ।  ‘गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने कुरामा समेत गृह मन्त्रालय प्रतिवद्ध रहेको व्यहोरा समेत जानकारीको लागि अनुुरोध छ,’ मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जी हाउसबाट लगिएका ३ सय ७० गाईगोरुमध्ये २४ गाईगोरु वीरेन्द्रनगर नगरपालिका–१४ कटकुवास्थित जंगलमा मृत फेला परेका थिए । आज बिहान ११४ वटा गाइगोरुलाई उपमहानगरपालिकाको संयोजनमा जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट नेपालगंज लगिएको विज्ञप्तिमा उल्लेख छ।

अहिले जिल्ला प्रशासनले गाईगोरु ढुवानीमा प्रयोग भएका ४ वटा ट्रक बरामद गरेको छ भने ट्रक चालकलाई पक्राउ गरेर प्रहरी नियन्त्रणमा राखेको छ । उनीहरुमाथि अनुसन्धान भैरहेको छ ।