माधव नेपालको दाबीः ‘हाम्रो गठबन्धन पवित्र छ, एमालेको अपवित्र’

माधव नेपालको दाबीः ‘हाम्रो गठबन्धन पवित्र छ, एमालेको अपवित्र’


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन् । तर, गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र रहेको उनको दाबी छ । 

सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष नेपालले एमालेले बनाएको विपक्ष गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकीर गरेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठन भएकाले सत्तारुढ गठबन्धन भने प्राकृतिक र पवित्र रहेको उनको तर्क थियो । 

अध्यक्ष नेपालले जहानिँया राणा शासनको अन्त्य गर्ने, पञ्चायती निरंकुशता अन्त्य गर्न सफल काँग्रेस र कम्युनिष्टहरुबीचको गठबन्धन अव पनि सफलताको विन्दुमा पुगी छाड्ने बताए । 

उनले भने, ‘पहिलो कुरा गठबन्धनको बारेमा प्रश्नहरु उठलान । यो गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक ? यो प्रश्न खडा हुन्छ । अर्को विपक्ष जुन गठबन्धन बनाएका छन । त्यो पवित्र गठबन्धन होकी अपवित्र गठबन्धन ? यहाँ प्राकृतिक, अप्राकृतिक मात्र होइन । यो नेचुरल पनि हो र पवित्र पनि हो । अर्को हाम्रो जुन विपक्षको गठबन्धन छ । त्यो अननेचुरल पनि हो । र, अपवित्र पनि हो । पहिलो हाम्रो गठबन्धन गणतन्त्र र संविधान जोगाउनका लागि भएको हो । संविधान रक्षाको लागि, संविधान कुल्चने काम भएको थियो । दुई दुई पटक संविधान कुल्चने काम भएको थियो । मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएको थियो । जबर्जस्ती समयभन्दा पहिले नै अधिकार मागेर प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्ने काम गरेको थिए । तत्कालीन प्रधानमन्त्रीले । त्यसको विपक्षमा हामी उभियौं । देशको संविधान जोगायौं । संविधान मात्रै जोगाएको होइन, लोकतन्त्र पनि जोगायौं । जुन हिसावबाट मुलुक अधिनायकवादको बाटोमा जाँदै थियो । संविधानको आफूखुशी व्याख्या गर्दै, तोडमरोड गर्दै, अपब्याख्या गर्दै जाने प्रवृत्ति देखिएको थियो  । त्यसलाई हामीले ठिक लिगमा बसाल्यौं ।’

उनले अगाडि थपे, ‘अस्थिरताको अवस्थाबाट देशलाई जोगाएर स्थिरताको बाटोमा लग्यौं । यसरी पवित्र उद्देश्यका साथ यस्ता पार्टीहरुसँग हामीले गठबन्धन ग-यौं । जुन पार्टीबीच एकताको लामो परम्परा रहँदै आएको छ । राणाशाहीको विरुद्धमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी मिलेपछि मात्रै हामीले राणाशासनलाई धराशायी बनाउन सक्यौं । पञ्चायती निरंकुशतालाई पनि यी दुईटा पार्टी नमिलेसम्म हामीले पराजित गर्न सकेका थिएनौं । जुन दिन हामीले मिलेर, एकतावद्ध भएर आन्दोलन सुरु ग-यौं । यो सफलताको शिखरमा पुग्यो ।’

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई विजयी गराउनका लागि एकतावद्ध भएर अगाडि बढन पनि गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिए । गठबन्धनको तर्फबाट आगामी निर्वाचनका लागि साझा प्रतिवद्धता पत्र कात्तिक २ गते (भोली) सार्वजनिक हुने भन्दै उनले जनताको घरदैलोमा पुगेर त्यसको प्रचार अभियानलाई तीव्रता दिनुपर्ने बताए । 

उनले भने, ‘गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनका लागि तपाईहरु एकतावद्ध भएर, योजनावद्ध भएर अवश्य पनि सफलताको विन्दुमा पु-याउनु हुनेछ भन्ने मैले आशा र विश्वास लिएको छु । हाम्रो सहकार्य जति सशक्त हुँदै जानेछ, जति धेरै हामी समन्वय गर्दै जानेछौं । जति धेरै हामी जनताको माझमा पुग्नेछौ. । हाम्रो विजय त्यति सुनिश्चित हुनेछ ।’
 

Logo