आइटिएफमा प्रदेश १ लाई पहिलो स्वर्ण, मधेश र सुदुरपश्चिम पदकविहीन

आइटिएफमा प्रदेश १ लाई पहिलो स्वर्ण, मधेश र सुदुरपश्चिम पदकविहीन


नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा एक नं प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ । 

मङ्गलबार भएको ५१–५५ किलो तौल समूहको महिला स्पाइरिङमा सो प्रदेशकी कुसुम राजवंशीले स्वर्ण पदक जितेकी हुन् । उनीसँग पराजित गण्डकी प्रदेशकी हिसिला अडाइले रजत पदक पाइन् । विभागीय टिम नेपाल आर्मीकी रीना धिमाल र सशत्र प्रहरी बलकी सन्जनाकुमारी चौधरीले कास्य पदक जितिन् ।

प्रतियोगिताको चौँथो दिनमा एक नं प्रदेश स्वर्ण हात पार्न सफल भएको हो । यसअघिका खेलमा उसले दुई वटा कास्य पदक जितेको थियो । मङ्गलबार नै भएको ४२–४५ किलो तौल समूहबाट महिला स्पाइरिङमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण जितिन् भने बागमती प्रदेशकी सुस्मिता तामाङ रजतमा सीमित बनिन् ।

नेपाल पुलिसकी मनिषा घर्तीमगर र सशत्र प्रहरी बलकी लिलाकुमारी सापकोटाले कास्यमा चित्त बुझाइन् । जारी प्रतियोगितामा मधेश र सुदुरपश्चिम प्रदेशले अहिलेसम्म कुनै पदक पाउन सकेको छैन । मिडिया संयोजक पुकार केसीका अनुसार प्रतियोगितामा आठ स्वर्ण, चार रजत र एक कास्यसहित विभागी टिम नेपाल आर्मी शीर्षस्थानमा छ ।

दोस्रो स्थानमा रहेको बागमती प्रदेशले पाँच स्वर्ण र चार रजत पदक हात पारेको छ । चार स्वर्ण र पाँच रजतसहित गण्डकी प्रदेश तेस्रो स्थानमा छ । कर्णाली प्रदेशकले एक रजत र एक कास्य पदक मात्र जितेको छ । अहिलेसम्मका खेलमा विभागीय टिम नेपाल पुलिस एउटा कास्यमा सीमित छ । 

लुम्बिनी प्रदेशले चार रजत र चार कास्य तथा विभागीय टिम सशत्र प्रहरी बलले एक रजत र तीन कास्य पदक जितेको छ । बुधबारसम्म चल्ने प्रतियोगिताअन्तर्गत हालसम्म ४६ पदकको टुङ्गो लागेको आइटिएफ नेपालका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।

Logo