पुरुष भलिबलः सेमिफाइनल समिकरण पूरा

पुरुष भलिबलः सेमिफाइनल समिकरण पूरा


पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा सेमिफाइनल समिकरण पूरा भएको छ ।  

पोखरा रंगशालाको कोर्टमा मंगलवार भएको प्रतिष्पर्धा अन्तर्गत अन्तिम क्वाटरफाईनल खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर एकलाई हराउँदै अन्तिम चारमा स्थान बनाउँदा पुरुष भलिबलमा सेमिफाइनल समिकरण पूरा भएको हो । 

एकतर्फी जस्तै खेलमा गण्डकीले प्रदेश १ माथि ३–० को सहज जित निकालेको हो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २५–२१ ले जितेको थियो । तेस्रो सेटमा गण्डकीले २५–१३ ले जितेर अन्तिम चारमा स्थान पक्का गरेको हो । पराजित प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब गण्डकीले मंगलवार नै भएको तेस्रो क्वाटरफाईनलको बिजेता नेपाल एपीएफसँग सेमिफाइनलमा खेल्नेछ । 

मंगलवारको अर्काे खेलमा एपिएफले लुम्बिनी प्रदेशमाथि जित निकालेको थियो । एपीएफले ३–१ को सेटमा जित निकालेको हो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २८–२६ ले जितेको थियो । तेस्रो सेट भने लुम्बिनीले २५–२३ ले जित्यो । चौथो सेटमा एपीएफले २५–१७ ले जितेर अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । 

खेलको क्रममा एपिएफका लगातार तीन खेलाडी घाइते भएपछि क्वार्टरफाइनलको खेल केही समयका लागि स्थगित भएको थियो ।

खेलाडीकै बिरोधपछि म्याट झिकेर खेलाइएको थियो । राष्ट्रिय प्रतियोगिता भएतापनि भलिबल चाहीँ पुरानै नेट र म्याटमा खेलाइएको छ । पुरानो म्याट भएका कारण चिप्लिएर लगातार खेलाडी घाइते भएका हुन् । 

बुधवार दुई सेमिफाईनल खेल हुनेछ । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लव र त्रिभुबन आर्मी क्लव खेल्नेछन् । दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र नेपाल एपीएफ क्लव खेल्नेछ । प्रतियोगिताको फाइनल भने बिहीवार हुनेछ ।

Logo