शिल्पा पोखरेलको मुद्दामाथि आज सुनुवाइ हुँदै

नायिका शिल्पा पोखरेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ । सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।

नायिका शिल्पा पोखरेलले जिल्ला र उच्च अदालतको आदेशविरुद्ध साउन २९ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । गत साउन १ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा भएको सुनुवाइमा अन्तरिम आदेश जारी गर्दै आज दुवै पक्षलाई बोलाइएको थियो।

उच्च अदालतले साउन २४ गते पोखरेल र ओझालाई जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई सदर गरेको थियो। शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन् ।

छवि ओझाकी जेठी श्रीमती हेमा ओझाले गत साउन ५ गते महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको अभियोगमा जाहेरी दिएकी थिइन् ।उनले  छवि र शिल्पा पोखरेलबीच भएको बहुविवाहमा कानुनी कारबाहीको माग गरेकी थिइन् ।

त्यसअघि नायिका शिल्पा पोखरेलले आफूमाथि घरेलु हिँसा भएको भन्दै निर्माता छवि ओझाविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी गरेकी थिइन् ।