मेयर द्वारिकलाल चौधरीले फेरि डोजर चलाए

सुनसरी । इटहरी उपमहानगरले सडक क्षेत्रमा निर्माण गरिएका संरचना र सामग्री हटाउन सुरु गरेको छ । सडक क्षेत्रमा रहेको अवैध संरचना र राखिएका निर्माण सामग्री हटाउन उपमहानगरले डोजरको प्रयोग गरेको छ ।

सडक सुशासन कायम गर्न पूर्व–पश्चिम सडकखण्डको पचरुखी चोकदेखि सडकको दायाँबायाँ साढे ८२ फिटभित्र रहेका संरचना भत्काएर खाली गरिएको उपमहानगरले जनाएको छ ।

एक सातासम्ममा रामधुनी नगरपालिकाको सीमासम्म खाली गरिसक्ने उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले बताए । संरचना हटाउन सात दिनसम्म त्यस क्षेत्रमै पुगेर अनुरोध गरे पनि नहटाएकाले उपमहानगरले नै हटाउन थालेको प्रमुख चौधरीको भनाई छ ।

अब अर्को हप्ता पचरुखी पूर्व बुढीखोलासम्म रहेका संरचना खाली गरिने मेयर चौधरीले बताए । गत वर्षको भदौमा बुढीखोलादेखि पचरुखीसम्म खाली गरिएको थियो ।

यस वर्ष सडक सुशासन अभियान सुरु गर्नुअघि उपमहानगरले सम्बन्धित विषयगत कार्यालय र सरोकारवाला पक्षसँग छलफल समेत गरेको थियो । यसअघि पनि उपमहानगरले सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएको थियो । जसमा मेयर चौधरीले आफ्नै घरको पर्खाल समेत भत्काएका थिए ।

द्वारीकलाल चौधरीको एक्शनः व्यक्तिको कब्जामा रहेका पोखरी फिर्ता