सशक्त पुरुषका २७ महिला प्रतिस्पर्धी उम्मेदवार को-को हुन् ?

सशक्त पुरुषका २७ महिला प्रतिस्पर्धी उम्मेदवार को-को हुन् ?


आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलहरूले महिलालाई प्रत्यक्षतर्फ उम्मेदवारमा प्राथमिकतामा राखेका छैनन् ।

न्यून संख्यामा रहेका अधिकांश महिला उम्मेदवारले ‘हेभिवेट’ नेतासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । एमालेले ११ जना महिला उम्मेदवार उठाएको छ । यो संख्या एमालेको कुल उम्मेदवार एक सय ३९ को आठ प्रतिशत हो । कुल ४६ उम्मेदवार उठाएको माओवादीबाट आठ अर्थात् करिब १६ प्रतिशत महिला उम्मेदवार छन् । कांग्रेसले ९१ मध्ये पाँच र एकीकृत समाजवादीले २० मध्ये एकजना महिला उम्मेदवार उठाएका छन् ।

देशव्यापी गठबन्धन गरेकाले कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट कम महिला उम्मेदवार बनेका हुन् । जसपा र लोसपाले महिला उम्मेदवार नै उठाएका छैनन् । त्यसैगरी स्वतन्त्रबाट पनि महिला उम्मेदवारहरु ‘हेभिवेट’ संग भिड्दै छन् । कोको हुन् त ती महिलाहरु ? 

१.रेखा थापा र भानुभक्त ढकाल (मोरङ ३)
अभिनेत्री तथा राप्रपाकी नेत्री रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दर्ता गराएकी छिन् । थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् । उनी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका सुनिल शर्मा र एमाले गठबन्धनका भानुभक्त ढकालसंग भिड्दै छिन् ।

२.रञ्जु दर्शना र ईश्वर पोखरेल (काठमाडौं ५)
विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन् ।२०७४ सालको स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेकी उनले त्यसबेला तेस्रो स्थान प्राप्त गरेकी थिइन् ।यसपटक भने उनले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । उनी नेकपा एमालेका नेता ईश्वर पोखरेलसंग भिड्दै छिन् । 

३.कोमल वली र दीपक गिरी (दाङ ३)
एमाले नेतृ कोमल वली दाङ ३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी छिन् । राप्रपा छाडेर एमाले प्रवेश गरेकी वलीलाई एमालेले अघिल्लो कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाएको थियो । यो क्षेत्रमा कांग्रेसका दीपक गिरी उम्मेदवार छन् । गिरीलाई सत्तारूढ गठबन्धनको साथ छ ।

४.जुलीकुमारी महतो र  अनिलकुमार झा (धनुषा ३)
एमाले नेतृ जुलीकुमारी महतो धनुषा ३ बाट चुनावी मैदानमा छिन् । एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेकी महतोको भिडन्त लोसपाका अनिलकुमार झासँग हुँदै छ । झा गठबन्धनका उम्मेदवार हुन् ।  

५.मञ्जु चौधरी र नारायण खड्का (उदयपुर १)
एमालेकी मञ्जुकुमारी चौधरी पाँच वर्षपछि फेरि कांग्रेसका डा.नारायण खड्कासँग प्रतिस्पर्धामा छिन् । परराष्ट्रमन्त्री खड्काले यस क्षेत्रबाट लगातार तीनपटक निर्वाचन जितेका छन् । उदयपुर १ बाट एमाले–जसपा गठबन्धनबाट चौधरी उम्मेदवार बनेकी हुन् । 

६.ज्वालाकुमारी साह र लालबाबु सिंह (बारा ३)
एमालेकी ज्वालाकुमारी साह बारा ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै छिन् । जहाँ उनको भिडन्त सत्तारूढ गठबन्धन उम्मेदवार लोसपाका लालबाबु सिंह र जसपाका रामबाबुकुमार यादवसँग हुँदै छ । माओवादी छाडेर एमाले गएपछि साहको प्रदेश सांसद पद खारेज भएको थियो ।

७.पद्मा अर्याल र धनराज गुरुङ (स्याङ्जा २)
एमाले सचिव पद्मा अर्याल स्याङ्जा २ बाट उम्मेदवार बनेकी छिन् । यसपटक उनी कांग्रेस उपसभापति धनराज गुरुङसँग प्रतिस्पर्धामा छिन् । उनले अघिल्लो निर्वाचनमा कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन् । 

८.विद्या भट्टराई र श्रीनाथ बराल (कास्की २)
एमालेकी विद्या भट्टराई कास्की २ बाट उम्मेदवार छिन् । यो क्षेत्रमा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् । दशकौँ एमालेको राजनीति गरेका बराल अवसर नपाउने नेतामध्येका एक हुन् । बराल सत्तारूढ गठबन्धनका उम्मेदवार हुन् । 

९.मञ्जु शर्मा चालिसे र देवेन्द्र पौडेल (बाग्लुङ २)
एमालेकी मञ्जु शर्मा चालिसे बाग्लुङ २ बाट उम्मेदवार छिन् । कांग्रेसको महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्य रहेकी शर्माले केही समयअघि एमाले प्रवेश गरेर प्रतिनिधिसभाको टिकट लिएकी हुन् । यो क्षेत्रमा माओवादीका देवेन्द्र पौडेल सत्तारूढ गठबन्धनका उम्मेदवार छन् । उनी शिक्षामन्त्री छन् ।

१०.शान्ता चौधरी र मेटमणि चौधरी (दाङ १)
एमाले नेतृ शान्ता चौधरी एकीकृत समाजवादीका मेटमणि चौधरीसँग प्रतिस्पर्धामा छिन् । एमाले र थारू आन्दोलनका समेत सहयात्री शान्ता र सहरी विकासमन्त्री मेटमणि आगामी निर्वाचनमा दाङ १ बाट प्रतिस्पर्धी बनेका छन् । यो क्षेत्रबाट अघिल्लो निर्वाचनमा मेटमणि निर्वाचित भएका थिए । 

११.निरुदेवी पाल र रेमश लेखक (कञ्चनपुर ३)
एमाले केन्द्रीय सदस्य निरुदेवी पाल पहिलोपटक प्रतिनिधिसभा निर्वाचन लड्दै छिन् । युवा संघकी पूर्वअध्यक्ष पाल यसअघि प्रतिनिधिसभाको समानुपातिक सांसद थिइन् । यो क्षेत्रमाकांग्रेसका रमेश लेखक उम्मेदवार छन् । लेखक पूर्वमन्त्री हुन् ।

१२.गौरी ओली र प्रेम आले (डोटी)
एमालेकी गौरी ओली डोटीबाट प्रतिनिधिसभा निर्वाचन लड्दै छिन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमालेबाटै प्रेम आले निर्वाचित भएका थिए । उनी हाल एकीकृत समाजवादीमा छन् । आलेलाई सत्तारूढ गठबन्धनको साथ छ ।

१३.पम्फा भुसाल र अमृत खड्का (ललितपुर ३)
ऊर्जामन्त्री एवं माओवादी नेतृ पम्फा भुसाल ललितपुर ३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी छिन् । अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । त्यतिवेला भुसाललाई एमालेको साथ थियो । अहिले उनलाई सत्तारूढ गठबन्धनको साथ छ । यो क्षेत्रमा एमालेका अमृत खड्का प्रतिस्पर्धामा छन् । 

१४.ओनसरी घर्ती र मणिराम फुँयाल (काठमाडौं २)
काठमाडौं २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी माओवादीकी ओनसरी घर्तीलाई सत्तारूढ दलको साथ छ । यो क्षेत्रमा एमालेका मणिराम फँुयाल उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमालेबाट माधवकुमार नेपाल निर्वाचित भएका थिए । 

१५.कल्पना धमला र कृष्णगोपाल श्रेष्ठ (काठमाडौं ९)
०६४ मा धादिङ २ बाट प्रतिनिधिसभामा निर्वाचित कल्पना धमला यसपटक काठमाडौं ९ बाट उम्मेदवार बनेकी छिन् ।  धमलासँग एमालेका कृष्णगोपाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । उनी अघिल्लोपटक यही क्षेत्रबाट विजयी भएका थिए ।

१६.मानुषी यमी भट्टराई र श्याम घिमिरे (काठमाडौं ७)
नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराई माओवादीको चुनाव चिह्नमा काठमाडौं ७ बाट उम्मेदवार बनेकी छिन् । उनी पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी हुन् । यो क्षेत्रमा एमालेका श्याम घिमिरे प्रतिस्पर्धामा छन् । 

१७.गोमा गौतम कुँवर र रतननाथ योगी (जुम्ला)
माओवादीकी गोमा गौतम कुँवर जुम्लाबाट निर्वाचन लड्दै छिन् । उनी प्रतिनिधिसभामा कर्णाली प्रदेशकै एक्ली महिला उम्मेदवार हुन् । उनलाई सत्तारूढ गठबन्धनको साथ छ । यो क्षेत्रमा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाही उम्मेदवार छन् । 

१८.विना मगर र तारा लामा (कञ्चनपुर ३)
अघिल्लोपटक पनि कञ्चनपुर १ बाट निर्वाचित माओवादीकी विना मगर यसपटक पनि उम्मेदवार बनेकी छिन् । अघिल्लो निर्वाचनमा उनलाई एमालेको साथ थियो । अहिले एमालेसँगै उनको प्रतिस्पर्धा छ । यो क्षेत्रमा एमालेका तारा लामा उम्मेदवार छन् । 

१९.अन्जना विशंखे र राजेन्द्रकुमार केसी (काठमाडौं १०)
माओवादी नेतृ अन्जना विशंखे काठमाडौं १० बाट प्रतिनिधिसभा निर्वाचन लड्दै छिन् । सत्तारूढ गठबन्धनमा यो क्षेत्र कांग्रेसको भागमा परे पनि माओवादीबाट विशंखेले उम्मेदवारी दर्ता गरेकी हुन् । यो क्षेत्रमा कांग्रेसका राजेन्द्रक्ुमार केसी र एमालेका हिमेस केसी उम्मेदवार छन् । 

२०.सुजाता कोइराला र ऋषिकेश पोखरेल (मोरङ २)
कांग्रेसकी सुजाता कोइराला मोरङ २ बाट उम्मेदवार बनेकी छिन् । अघिल्लोपटक यो निर्वाचन क्षेत्रबाट कांग्रेसका डा. मीनेन्द्र रिजालले विजयी भएका थिए । यो क्षेत्रमा एमालेका ऋषिकेश पोखरेल उम्मेदवार छन् ।

२१.चित्रलेखा यादव र राजकिशोर यादव (सिराहा २)
कांग्रेसकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादव सिराहा २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी छिन् । पूर्वउपसभामुख यादवलाई सत्तारूढ गठबन्धनको साथ छ । यो क्षेत्रमा जसपाका राजकिशोर यादव उम्मेदवार छन् । उनलाई एमालेको साथ छ । 

२२.महालक्ष्मी उपाध्याय ‘डिना’ र कमल थापा (मकवानपुर १)
कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुर १ बाट उम्मेदवार बनेकी छिन् । उनको भिडन्त राप्रपा नेपालका अध्यक्ष कमल थापासँग हुँदै छ । अघिल्लोपटक यो निर्वाचन क्षेत्रमा एमालेले जितेको थियो । 

२३.सीता गुरुङ र विजय सुब्बा (तेह्रथुम)
कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ तेह्रथुमबाट प्रतिनिधिसभा उम्मेदवार बनेकी छिन् । यो क्षेत्रमा एमालेका विजय सुब्बा उम्मेदवार छन् । 

२४.भगवती चौधरी र विजय गच्छदार (सुनसरी ३)
सुनसरी ३ मा तेस्रोपटक कांग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरी प्रतिस्पर्धामा उत्रिएका छन् । दोस्रो संविधानसभा निर्वाचन ०७० र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा गच्छदार झिनो मतान्तरले विजयी भएका थिए । अघिल्लोपटक वाम गठबन्धन भए पनि गच्छदारले चौधरीलाई हराएका थिए । पटक–पटक मन्त्री भइरहेका गच्छदारसँग पहिलोपटक प्रतिस्पर्धा गर्दा चौधरी एमालेको जिल्लास्तरीय नेता थिइन् । हाल उनी केन्द्रीय सदस्य छिन् । 

२५.रेखा शर्मा र शंकर पोखरेल (दाङ २)
माओवादी नेतृ रेखा शर्मा एमाले महासचिव शंकर पोखरेलबीच दाङ २ मा प्रतिस्पर्धा हुँदै छ । ०७० र ०७४ मा समानुपातिक सांसद भएकी शर्मा पूर्वमन्त्रीसमेत हुन् । उनी पहिलोपटक प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन लड्दै छिन् । सत्तारूढ गठबन्धन र एमाले दुवैले यो क्षेत्रलाई प्रतिष्ठाको विषय बनाएका छन् । 

२६.पुष्पा भुसाल र टोपबहादुर रायमाझी (अर्घाखाँची)
निवर्तमान उपसभामुख पुष्पा भुसाल अर्घाखाँचीबाट प्रतिनिधिसभा उम्मेदवार बनेकी छिन् । कांग्रेसकी नेतृ भुसालको भिडन्त एमाले नेता टोपबहादुर रायमाझीसँग हुँदैछ । रायमाझीले यसअघि एमालेको समर्थनमा माओवादीबाट निर्वाचन जितेका थिए । यसपटक माओवादीको साथ भुसाललाई छ । 

२७.रामकुमारी झाँक्री र गोकर्ण विष्ट (गुल्मी २)
एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री गुल्मी २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी छिन् । अनेरास्ववियूकी पूर्वअध्यक्ष झाँक्रीलाई सत्तारुढ गठबन्धनको साथ छ । उनको प्रतिस्पर्धा एमाले सचिव गोकर्ण विष्टसँग हुँदै छ । अघिल्लो निर्वाचनमा झाँक्री विष्टको चुनावी कमान्डर थिइन् । 

Logo