‘पाल्पाका किसानलाई फड्के कीराको समस्याले सधैँ पिरोल्छ’

‘पाल्पाका किसानलाई फड्के कीराको समस्याले सधैँ पिरोल्छ’


रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । 

वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गर्नुभएका उनि खेतभरि झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित छन् । “दुःख गरेर धान लगाइयो अब त भकारीमा स्याहार्ने बेला भयो भनेर उत्साहित भएको सखापै पार्ने गरी किराले सतायो, कहिले गबारो कहिले फड्के कीरालगायतका विभिन्न समस्याले किसानलाई सधैँ पिरोल्छ”, उनले गुनासो पोखे । वर्षा सकिएपछि हालै काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नुपरेको उनि बताउँछन् । 

करिब छ रोपनी क्षेत्रफलमा लगाइएको धानबाली राम्रै भएपछि स्याहार्ने समयमा फड्के किराको समस्याले क्षति पुगेको छ । पाँच जनाको परिवारलाई वर्ष दिन खान पुग्ने सो जग्गामा लगाइएको धान यस पटक नोक्सान हुँदा परिवार कसरी पालिने भन्ने चिन्ताले उनलाई रातदिन सताएको छ । गत वर्ष काटेको धान वर्षाले डुबानमा परी  नोक्सानी उनले बेहोर्नुपर्‍यो । क्षतिपूर्तिका लागि गाउँपालिकाले विवरण सङ्कलन गरे तापनि पहुँचवालालाई नै वितरण गरेर आफूलाई विभेद गरेको उनको गुनासो छ । 
 
सगाहाको नौसय मुरी खेतभरि नै सो कीराले सताएको अगुवा कृषक ऋषिराम अर्याल बताउँछन् । उनका अनुसार गत वर्ष यस क्षेत्रमा फ्याट्टफुट्ट रुपमा देखिँदा खासै धानमा असर परेन तर यस पटक ठूलै क्षति हुने गरी फैलिएको छ । आफूले लामो समयदेखि धान लगाउँदै आएको भए पनि यस पटकजस्तो महामारीको रुपमा फड्के कीराको प्रकोप विगतका वर्षमा नरहेको अर्यालको भनाइ छ ।
    
जिल्लाको हुँगी, अगाहाखोला क्षेत्रमा करिब ७० रोपनीमा फड्के कीराको समस्या फैलिएपछि स्थलगत निरीक्षणपश्चात् कार्यालयबाट नियन्त्रणका लागि विषादी उपलब्ध गराइएको कृषि ज्ञानकेन्द्रका प्रमुख कामना अधिकारी बताउँछन् । काटिसकेको धान भए धेरै क्षति हुन्थ्यो तर काट्न बाँकी रहेका धान भएकाले क्षति कम हुने उनि बताउँछन् । कीराको समस्या देखिएमा किसानलाई पालिका तथा कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सम्पर्क गर्न उनको अनुरोध छ ।
    
रामपुर नगरपालिकाका विभिन्न स्थानमा समस्या भेटिएपछि स्थलगत रुपमा अवलोकनपश्चात् विषादी छर्कन् कृषकलाई सुझाव दिइएको शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए । यस क्षेत्रमा एक हप्तादेखि यस कीराको समस्याका सम्बन्धमा कृषक गुनासो राख्न आउने गरेपछि निःशुल्क विषादी उपलब्ध गराउँदै आएको शाखा प्रमुख पाण्डेयले बताए ।

विशेष गरी अलि गहिरो, पानी जम्ने, गाँजको घनत्व बढी भएको जग्गामा पानी परेपछिको सापेक्षित आद्रता उच्च हुन गई यस कीराको समस्या बढ्न गएको अनुमान लगाउन सकिन्छ ।  वयस्क २.५ देखि ३.४ मिलिमिटर लामो हुन्छ र शरीर कुनै खैरो, कुनै सेता र कुनै हरिया रङका फुत्तफुत्त उफ्रने किसिमका मसिना कीरा हुन्छन् । 
       
यो कीरामा साना र ठूला पखेटा दुवै थरीका हुन्छन् । यसको मझौला पिठ्युँ खण्डमा तीन खैरा धर्साहरु हुन्छन् । शिशु फड्केको भने खैरो शरीर हुन्छ । धानका बिरुवा मर्दछन्, बिरुवा गाँजिन र बढ्न सक्दैनन्, धानको बोटमा बाला नलागी परालजस्तो भई बोट सुकेर जान्छ, यसको लक्षण जग्गाको कुनै एक ठाउँबाट सुरु भई फैलिँदै जान्छ । 

रोकथामका उपाय 
       
उपयुक्त जातको छनोट गर्ने, ढिलो लगाइएको भन्दा छिटो लगाइएको र ढिलो पाक्नेभन्दा छिटो पाक्ने धान बालीमा फड्के  कीराको प्रकोप कम भएको पाइएको छ । गाँजको घनत्व काम गर्ने, धान रोप्ने समयमा प्रतिगाँजमा दुई–तीन वटाभन्दा बढी बेर्ना नरोप्ने गरेमा रोकथाम गर्न सकिन्छ ।
      
त्यस्तै नाइट्रोजनयुक्त मलखादको उचित प्रयोग गर्ने, तीन चार दिनको फरकमा खेतमा पानीको सतह बढाउने घटाउने र सुकाउने गर्ने, (पाकेर काट्ने बेलाको धानमा पानी सुकाउने) अन्तिम विकल्पको रुपमा रासायनिक विषादीको प्रयोग गर्ने, एजाडिरिक्टीन २।३ मिलिलिटर, बुफ्रोफेजीन एक मिलिलिटर, इमिडाकोल्प्रिड ०।५ ग्राम र निटेनपाइरम एक मिलिलिटर प्रतिलिटर पानीमा मिसाइ फेदमा पर्ने गरी एक हप्ताको फरकमा छर्कनुपर्दछ । विषादी छर्कदा धानको बिरुवा माथिबाट होइन बिरुवाको फेदमा पर्ने किसिमले छर्कनुपर्दछ । धानको फूल फुलेको अवस्थामा विषादी छर्कनुहुँदैन । 

Logo