राष्ट्रपतिद्वारा तीजको शुभकामना

काठमाडौं,

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले आज शुभकामना सन्देश जारी गरी सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तिज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको स्मरण गर्दै यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएका बताउनुभएको छ ।

सन्देशमा उहाँले नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता भएको बताउनु भएको छ ।

तीजले महिला अधिकारलाई अझैमाथि उठाउँछ : उपराष्ट्रपति

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाको पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै यस चाडले आपसी सम्बन्ध प्रगाढ बनाउँदै महिला अधिकारलाई अझैमाथि उठाउने विश्वास व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष राष्ट्र भएको विविधतायुक्त संस्कृतिले मुलुक धनी रहेको स्मरण गर्दै यहाँ मनाइने सबैखाले मौलिक चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको बताउनुभयो ।

“हरितालिका तीज पर्वले दिदीबहिनी र आम नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचाराको अभिवृद्धि गर्दै महिला अधिकारलाई अझैमाथि उठाउनेमा विश्वस्त छु ।” उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना , प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल लगायतले पनि हिन्दू नारीहरुको पर्व हरितालिका तीजको शुभकामना दिनु भएको छ ।
रासस