नेवार समुदायले किन मनाउँदैनन् तीज ?

आज हरितालिका तीज अर्थात हिन्दू नारीहरुको प्रिय पर्व ।

राजा हिमालयले छोरी पार्वतीले महादेव वर मागी व्रत बसेको र सोही कठोर व्रतको वरदानस्वरुप आजकै दिन महादेश वर पाएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ।  सोही तिथीदेखि हिन्दू नारीहरूले आजको दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको छ ।

तर, केही समुदायले भने तीज मनाउदैनन्। तिमध्ये एक हुन् नेवार समुदाय। पछिल्लो समय आधुनिकताको प्रभावसंगै केहीले तीज मनाउने गरेपनि यो नेवार समुदायको मौलिक संस्कृतिभित्र भने पर्दैन ।  यसका पछाडि विविध कारणहरु रहेको संस्कृतविदहरुको भनाइ छ।

नेवार समुदायमा केटी अर्थात बालिकाहरुको बिबाह तीन पटक हुन्छ । पहिलो ‘इहिं मचा’ जसमा बेलसँग बिबाह गरिन्छ । यो बिबाह रजश्वला हुनु अगावै गरिन्छ।  बेल बिबाह गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी बिबाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो बिबाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ ।

बेल बिबाहलाई नेवार शब्दमा ‘इहि’ भन्ने गरिन्छ । विशेषगरी बिजोर वर्षको साइतमा बालिका रजस्वला हुनु अगावै गरिने संस्कार मध्य बेल बिबाह महत्वपूर्ण संस्कार हो । शुरुको कन्यादानको रुपमा बुवाले सर्वगुण सम्पन्न पुरुषार्थ ज्वाईंको रुपमा सुवर्णकुमारका प्रतिक बेलसँग विवाह गरिदिएर कन्यादान गर्ने गरिएको बताउछन् नेवारी संस्कृतिका जानकारी राजु नापित ।

बेलसँग गराइने बिबाह, केटी परिपक्व भइसकेर वरसँग गरिने बिबाह सरह भएपनि यसलाई सामुहिक रुपमा गरिंदै आएको देखिन्छ । सामुहिक रुपमा गरिने बेलबिबाहको लागि कम्तिमा पाँच बालिका आवश्यक पर्छन् । तिनीहरु मध्ये मण्डप अगाडि राखिने शुरुको बालिका मुख्य हुन्छ भने अरुलाई क्रमानुसार दोस्रो, तेस्रो गरी राखिन्छ ।  बेल विवाह संस्कार नेपाल संवत् तिथि अनुसार ‘बछलाथ्व’ अक्षय तृतियाको अवसर पारी दुई दिनसम्म गरिन्छ ।

बेलबिबाह गराउने पुरोहितले कलश राखी गणेश, क्षत्रपाललगायत अरु विभिन्न देवगणलाई प्रतिक मानी पूजापाठ गर्छन् । पूजामा नेवार शब्दमा कुह्मःका ग्वारा, ज्यनाः लप्ते, चाकु, कँय्, हलू, सुखुन्या, ग्वःगु ग्वय्, ताय् आदि सामाग्री राखिएको हुन्छ । बेलबिबाहमा सहभागी गराउने बालिकालाई अभिभावकले परम्परागत भोटे ताल्चा समाउन लगाई पानीको धारा छुटाई स्वागत गरी मण्डप अगाडि बसाइन्छ ।

त्यसपछिको पूजापाठ रम्स अनुसार नेवार शब्दमा ईका पःकाया कुँ थनेगु अर्थात धुपौरो बाल्ने र धौपति राख्ने गरिन्छ । तीन पटकसम्म कलशमा र एक पटक घरका मूल देवगणको नाममा पूजा गर्न दिइ बालिकालाई टिका लगाइ दहि मुछेको निधारमा लगाइ फूल स्यूरिने गरिन्छ । समारोहका मान्यजनबाट बालिकाको पाउदेखि शिरसम्म पहेंलो रङ्गको धागोले बेर्न लगाइन्छ । उक्त धागोले एक सय आठ चक्कर लगाइ बेरिएको हुन्छ । त्यसपछि नेवार शब्दमा ज्यनाः लप्ते अर्थात चोखो पातमा विभिन्न पूजा सामाग्री राखी पोको पारी गाँठो बनाइन्छ ।

मान्यजनबाट कलशमा र अरु अभिभावकले विभिन्न नामका प्रतिक मानिएका देवगणलाई पूजा गरी दक्षिणा चढाइ टिका लगाइन्छ । पूजापाठ सकेर कलशको जल, र टिका लगाइ प्रदान ग्रहण गरिन्छ । त्यसपछि काठबाट बनेको पाथीमा मान्यजनबाट फलफूलका टुक्रा राखी बालिकालाई तीन पटक पूजा गरिन्छ । दियो बालेर धान भुटेको एक प्रकारको बस्तु जसलाई नेवार शब्दमा ताय् भनिन्छ सो बस्तु छरि शुभकामना दिने चलन छ । त्यसपछि मान्यजनबाट भोटे ताल्चा समाउन लगाई जलको धारा छुटाइ स्वागत गरी समारोहस्थलमा लगिन्छ ।

बाटोमा सिलौटामा मास राखी बालिकालाई पिन्न लगाइन्छ । बेलबिबाह समारोहमा पूजापाठ सकेर प्रसाद ग्रहण गर्न लगाइ टिका लगाइदिने चलन छ । थाय्भू अगाडि राखी सुर्य देवतालाई दीप बाली पूजा गरिन्छ । भुईंमा पात बिछ्याइ स्थानीय भाषामा थाय्भू नकी अर्थात खाना खुवाइन्छ । खानापछि चुथेर दीयो बालेर बालिकाले पूजा गर्न दिइ कलं वाये यंकेगु संस्कार गरिन्छ । सो पश्चात दुस्वःया संस्कार सम्पन्न हुन्छ ।

समारोहको भोलिपल्ट बेल विवाहको मुख्य विधि सुरु हुन्छ । बेल बिबाह गर्ने बालिकालाई फच्छिं नीसि गरी मण्डप अगाडि बसाइन्छ । त्यसपछि पुनः बालिकालाई सर–सफाइ गराइन्छ जसलाई नेवार शब्दमा नीसि गरेको भन्ने हुन्छ । बालिकालाई टाउकोमा सिन्दुर लगाइ दिई विशेष प्रकारको साडी दिइन्छ जसलाई इहि पर्सी भन्ने गरेको छ ।

बालिकालाई साडी लगाइदिनेको अर्थ केटीको रुप दिनु हो । समारोहमा पुरोहितले यज्ञ गरी पूजापाठ सकेर बालिकालाई पनि पूजा गर्न दिइन्छ । त्यसपछि बुवाले बालिकालाई आफ्नो काखमा राखी अगाडि रहेको बेल र चोखो सुनलाई आफ्ना इष्ट देवगणको रुपमा जल, सिन्दुर, अक्षता, फूलका साथै अरु पूजा सामाग्री राखी पूजा सकेर जौ, तील, कुश हातमा लिइ आमाले जल र दूधको धाराका साथ बेल र चोखो सुन भुईंमा राखिन्छ र बालिकालाई बुवाको काखबाट मण्डप अगाडि बसाइन्छ । यस बिधिलाई कन्यादान भनिन्छ ।

यसरी कन्यादान दिनेबेलामा पूजाथालीमा बेल र चोखो सुन राखी आफ्ना इष्टदेवता मानी पूजा गरेर सो बालिका समेतलाई सदस्य मानी त्यहाँको सम्पूर्ण नीति नियम पालना गर्नेगरी कन्यादान दिइन्छ । कन्यादानपछि बुवाले गक्षअनुसारको दक्षिणा चढाउँछन् । पुरोहितले बालिकाको दुबै हातमा बेल समाउन लगाइ डोरीले बाँधी मान्यजनबाट मण्डप परिक्रमा गर्न लगाइ आ–आफ्नो ठाउँमा बसाउछन् । परिक्रमा पछि बालिकाका आफन्तबाट पूजा गरी दान दिन लगाउने चलन छ जुन संस्कारलाई बाह्रा छुकेगु भनिन्छ ।

नेवार समाजमा केटीले गर्नुपर्ने घरयासी कर्म गर्न लगाइन्छ जस्तो ढिकी, चिउरा कुट्ने, नाङ्लो निफन्ने आदि । घरयासी कर्मपछि मान्यजनको हातबाट सम्पूर्ण देवगणलाई पूजाका साथै टिका लगाइ दक्षिणा दिइ होम गरी पुजाविधि सम्पन्न गरिन्छ । त्यसपछि कलशको जल तथा प्रसाद ग्रहण गरी मान्यजनबाट ज्वालान्हाय्क अर्थात एक प्रकारको पूजा गर्न प्रयोग हुने सामान प्रयोग गरी बेलबिबाह संस्कार सम्पन्न गरिन्छ ।

दोस्रो बिबाहलाई नेवारी भाषामा बारा तयेगु अर्थात् नेपालीमा गुफा राख्ने जसलाई सूर्यदर्शन पनि भन्निछ । बेलसँग बिबाह भएपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेपछि सूर्यदर्शन गराइन्छ। यसमा सूर्यसँग बिबाह गरिन्छ। बाह्र दिनसम्म सूर्यको किरणसम्म पनि नदेखाई कुनै पुरुषले नदेख्ने गरी गुप्तवासमा राखिन्छ । सूर्यदर्शन गरिएका बालिकाहरु खराब मान्छेहरु तथा नकारात्मक शक्तिबाट सूर्यले बचाउँछ भन्ने जनविश्वास रहेको पाइन्छ ।

यसमा बैदिक– तन्त्र निर्देशन अनुसार बिधिवत प्रकृया पुर्ण गरि सूर्यदेवलाई साक्षीका रुपमा राखी गुप्तवासबाट निकाली सूर्य दर्शन गराई रजस्वला हुँदाका बखत हुने र हुन सक्ने छुवाछुतको समस्त दोषबाट मुक्त हुनेगरि संस्कार सम्पन्न गरिन्छ । यसैकारणले पनि ऋषिपञ्चमिको व्रत उपासना गरि पुन: प्रायश्चित गर्न नपर्ने शास्त्रीय मान्यता अनुसार नेवार महीलाहरुले यो ऋषिपञ्चमिको व्रत बस्दैनन।

कतिपय नेवारी समुदायमा अग्निसंग पनि बिबाह गरिदिने चलन छ।  महाभारत उद्योगपर्व, अध्याय ११५-११९ को अत्रि संहितामा स्त्रीहरूको चार विवाह हुने कुरा वर्णित छ। उक्त संहिताअनुसार स्त्रीको विवाह सोम, गन्धर्व, अग्नि पछि बल्ल मनुष्यसँग हुन्छ।

नेवारी प्रचलनमा चौथोपटक पुरुषसँगको बिबाहमा कन्यादान गरिँदैन। छोरीलाई विवाहमा गैरनेवारी परम्परामा जस्तो ‘पाले पुण्य मारे पाप’ भन्दै परपुरुषको हातमा दिने चलन छैन। अग्निसँग पहिले नै विवाहबन्धनमा बाँधिएकाले जग्गेमा अग्नि साक्षी राखी विवाह धर्म निभाउने वचन पनि लिइँदैन ।

नेवार समुदायमा प्रचलित इही बेल विवाह र बारा तयेगु गुफा राख्ने प्रचलनका कारण महिलाले श्रीमान् बिते पनि रङविहीन जीवन जिउनु पर्दैन भन्ने मान्यता छ । त्यसो त कतिपय नेवार समुदायमा बिबाहमा समेत सिन्दुर नलगाइ बिबाहपछि मात्रै सिन्दुर लगाउने चलन छ ।