थाइल्याण्डको सरकार विरुद्ध हजारौँको प्रदर्शन

थाइल्याण्डको सरकार विरुद्ध हजारौँको प्रदर्शन


काठमाडौं ।

थाइल्याण्डको सरकारका विरुद्धमा थाइ राजधानी बैंककमा आइतबार हजारौँ जना नागरिक जम्मा भएर प्रदर्शन गरेका बताइएको छ । उनीहरुले थाइ सरकारको वहिर्गमनको माग गरेका थिए । राजधानी बैंककमा जम्मा भएका हजारौँ नागरिकले प्रधानमन्त्री प्रयुथ चान ओचाको राजीनामा मागेका छन् ।

उनीहरुले विपक्षी दलहरुमाथि भएको दमनको अन्त्य गर्न र नयाँ तथा प्रजातान्त्रिक संविधान ल्याउनका लागि वर्तमान प्रधानमन्त्री ओचाले आफ्नो पदबाट राजीनामा दिनु पर्ने बताएका थिए । यहाँका विपक्षीहरुले पूर्व सैनिक शासक ओचाको राजीनामा विगत लामो समयदेखि नै माग्दै आएका छन् । उनी पूर्व सैनिक शासक थिए र गत वर्षको विवादास्पद निर्वाचन जितेर सत्तामा आएका थिए ।

यहाँ कम्तीमा पनि २० हजार जना थाई नागरिक सरकार विरोधी प्रदर्शनमा सहभागी भएको फ्रि युथ मुभमेन्टका एकजना नेताले बताए । फ्रि युथ मुभमेन्ट यहाँका विद्यार्थी संगठनहरुले सरकारका विरुद्धमा आन्दोलन गर्नका लागि निर्माण गरेको एउटा मोर्चा हो ।

उक्त मोर्चाका नेताले यहाँ सरकारका विरुद्धमा आन्दोलन सुरु भइसकेको र ठूलो संख्यामा नागरिक सडकमा आएको बताएका छन् । आन्दोलनमा जम्मा भएका करिब १९ हजार नागरिकले वर्तमान संविधान फेरेर नयाँ लेख्नु पर्ने भन्दै सरकारलाई हस्ताक्षर गरेर बुझाएका छन् ।

थाइल्याण्डको संविधान त्यहाँ सैनिक शासन रहेका बेला सन् २०१४ देखि २०१९ को अवधिमा बनाइएको हो । उक्त संविधान प्रजातान्त्रिक नभएको भन्दै यसको पुनः लेखन उनीहरुको माग छ ।रासस

Logo