पुष्प मेलामा अवलोकन कर्ताको गुनासोः ‘विदेशी फूलहरू धेरै देखिए, महंगो भो’

पुष्प मेलामा अवलोकन कर्ताको गुनासोः ‘विदेशी फूलहरू धेरै देखिए, महंगो भो’


ललितपुरको जावलाखेल खेल मैदानमा शुरु भएको १५औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आायातित फूललाई बढी प्राथमिकता दिइ प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका छन् । 

कार्तिक ३ गतेदेखि शुरु भएको प्रदर्शनीमा विदेशबाट ल्याइएको फूलहरु बढी प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका हुन् । अवलोकन कर्ताहरुका अनुसार काठमाडौंका सबै नर्सरी एकै स्थानमा भएर अवलोकनका लागि र फूल किन्नका लागि छान्न पाएपनि यस वर्ष विगतको तुलनामा ३० प्रतिशत भन्दा धेरै फूलको मूल्य महंगो रहेको बताए । 

दक्षिणकालीबाट मेला अवलोकनका लागि आइपुग्नुभएका राजाराम पौडेलले फूलसम्बन्धी मेला राख्नु राम्रो भएपनि नेपालमै उत्पादन भएका फूलहरु भन्दा विदेशबाट आयात गरिएका फूलहरुको मेलामा धेरै भेटिएको बताए । 

उनले भने, ‘यस्तो फूलसम्बन्धी मेला राख्नु राम्रो हो, तर धेरैजसो विदेशबाट आयात गरेको फूलहरु देखियो । नगरपालिकाहरु कुन बिरुवालाई प्रोत्साहन गर्न सकिन्छ त्यसको अध्ययन भएर, नेपालकै बीउलाई प्रोत्साहन गर्ने हो भने गाउँगाउँमा गएर सरकारले अध्ययन गर्न जरुरी छ ।’ 

त्यस्तै अर्का अवलोकन कर्ता जीवन श्रेष्ठले मेलामा पूरै काठमाडौंका नर्सरीहरुको अवलोकन गर्न सकिने भएकाले राम्रो लागेको बताए  । उनले मेलामा विदेशबाट आयात गरिएका महंगा फूलहरु पनि राखिएको बताए । 

अवलोकन कर्ता पुष्पा सिंहले विगतको तुलनामा यसवर्ष २५/३० प्रतिशत भन्दा बढी फूलहश्रको बजार महंगी रहेको बताए । उनले गत वर्ष ५ सय रुपैयाँमा पाउने फूल यस वर्ष हजार रुपैयाँसम्म परेको बताए । 

त्यस्तै व्यवसायीहरु भने पहिलाको तुलनामा यस वर्ष फूलको व्यापार धेरै नै भएको बताउँछन् । ओम नर्सरीकी पुष्पा घिमिरे पहिलाको तुलनामा यस वर्ष धेरै बिक्री भएको बताउँछिन् । उनले नेपालमै फूलमा आत्मनिर्भर बन्न प्रविधिको आवश्यक रहेको त्यसमा सरकारले सहयोग गर्नुपर्ने बताइन् । 

अर्का व्यवसायी सुमन महर्जन अहिले पुष्प व्यवसायमा गुणस्तरमा प्रतिष्पर्धा भन्दा पनि मूल्यमा धेरै प्रतिष्पर्धा भइरहेको गुनासो गर्छन् । व्यवसायी सुवास लामा भने मेलामा नयाँ ग्राहकका लागि चिन्ने अवसर हुने बताउँछन् । मेलाहरुले ग्राहकहरुलाई पनि एकै ठाउँमा रोजिरोजि फूल किन्न पाउने अवसर प्रदान गरेको उनले बताए । 
 
फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ । तिहारको (पाँच दिन) मा करिव २० लाख सयपत्री, सवा चार (४.२५) लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ । नेपालमा तिहारका लागि गत वर्ष करिव १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिव साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ । मेला आजसम्म सञ्चालन हुनेछ । 

Logo