रवि लामिछानेद्वारा उच्च अदालतमा निवेदन दर्ता

सञ्चारकर्मी रवि लामिछानेले चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका छन्।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले गत भाद्र ९ गते लामिछानेसहित युवराज कँडेललाई जनही ५ लाख र ३ लाख धरौटीमा रिहा गरेको थियो ।  उक्त आदेश बदर गरि पाऊँ भन्दै मंगलबार उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका हुन् ।

निवेदनमा फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनिएको छ । निवेदन उपर उच्च अदालत पाटन, हेटौंडा इजलाशले बुधबार प्रारम्भिक सुनुवाई गर्नेछ ।

पत्रकार पुडासैनी गत साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले मर्नु अघि बनाएको भिडियोमा रवि, युवराज र प्रेमिका भनिएकी अस्मिता कार्कीको नाम लिएका थिए । उनले भिडियोमा तीनै जनाको कारण आफु मर्न बाध्य भएको भन्दै कडा कारवाहीको माग गरेका थिए ।