बाढीपहिरोका कारण राष्ट्रिय प्रशारण लाइन दुई सातादेखि अवरुद्ध

बाढीपहिरोका कारण राष्ट्रिय प्रशारण लाइन दुई सातादेखि अवरुद्ध


असोज अन्तिम साता आएको वर्षासँगै बाढीपहिरोले राष्ट्रिय प्रशारण लाइन (नेशनल ग्रीड) अवरुद्ध भएको छ ।  बाढीपहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति अवरुद्ध भएको  हो ।

दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन पुगेको छ । बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति नभएको नेपाल राष्ट्रिय विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश दत्त रावलले बताए । उनले भने- क्षति भएको स्थानमा मर्मतको काम भइरहेको छ ।

दुई सातादेखि नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवि साना जलविद्युत आयोजनाको विजुलीले जुम्ला सदरमुकाम खलंगामा काम चलाउ भइरहेको जनाएको छ । यही विजुली पनि २४ सै घण्टा नियमित आपूर्ति हुने अवस्था छैन ।

टोल, क्षेत्र कलष्टर मिलाएर विजुली आपूर्ति गर्ने गरिएको प्रमुख रावलले बताए । उनले भने, 'स्थानीय स्तरमा उत्पादित विजुली कम क्षमताको छ । यो विजुलीलाई अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्रथामिकता दिएको छ । नागरिकको घरमा पनि कम्तीमा मोबाइलसम्म चार्ज गर्न होस भनेर पनि विजुली आपूर्ति गर्ने गरिएको छ ।'

क्षति भएको स्थानमा विजुलीका पोल गान्ने र तार जोड्ने काम निरन्तर भइरहेको छ । सडक पनि अवरुद्ध भएकोले विद्युत सामग्री ओसारपसारमा समस्या भएको छ । हप्ता दिनभित्र नेशनल ग्रीड आपूर्ति हुने गरी मर्मतको काम भइरहेको उनले बताए ।

Logo