सिन्धुपाल्चोकका पहिरो पीडितलाई सुरक्षित स्थानमा सारियो

सिन्धुपाल्चोकका पहिरो पीडितलाई सुरक्षित स्थानमा सारियो


सिन्धुपाल्चोक ।

प्राकृतिक विपत्तिका हिसाबले अग्रपंक्तिमा रहेको सिन्धुपाल्चोक जिल्लाले साना तथा ठूला सबै खाले विपत्ति भोग्नु परेको छ । पछिल्लो घटनाबाट लिदी गाउँ अहिले शोकमा छ । स्थानीयले आफू जोखिममा रहेको र स्थानान्तरण गर्दिनु भन्दै धेरै पटक जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए।

गाउँभन्दा माथिको जमिनमा धाँजा फाटेको भन्दै स्थानीयले बस्ती स्थानान्तरणका लागि पटकपटक प्रशासनसँग आग्रह गर्दै आएका थिए। समयमै बस्ती स्थानान्तरण नहुँदा धरैले ज्यान गुमाउनु पर्यो भने दर्जनौं अझै बेपत्ता छन् ।

जुगल गाउँपालिका–२ गोल्चेका अध्यक्ष प्रताप लामाले गाउँ कार्यपालिकाको बैठकमा आफूले आफ्नो वडाको १४९ घर पहिरोको जोखिममा रहेकाले स्थानान्तरणको माग राखेको बताए । स्थानीयले गाउँको प्रायः ठाउँहरू धाँजा फाटेको, कति ठाउँ बगेको भन्दै पहिले नै असुरक्षित महसुस गरेका थिए । साउन २३ गते आठ स्थानीयवासीले सदरमुकाम आएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा उनीहरूले जोखिमपूर्ण बस्तीको आवश्यक अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए । माथिबाट पहिरोको डर र तल ब्रम्हायणी नदीमा निर्माण भइरहेको बलेफी ए जलविद्युत् आयोजनाको कारणले बस्ती नै जोखिममा परेको उनीहरूले निवेदन दिएका थिए । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने प्राधिकरणले तत्काल स्थानान्तरण गर्नपर्ने अवस्था नरहेको बताएकाले स्थानान्तरण नगरेको बताए।

उनले अहिले क्षति भएको प्रति दुःख ब्यक्त गर्दै पहिरोबाट बाँचेकालाई अस्थायी रुपमा सुरक्षित स्थानमा सारिएको जानकारी दिए । अत्यावश्यक खाद्यान्न ओड्ने ओछ्याउने र भाँडाकुडा वितरण गरिएको उनले जानकारी दिए । तत्कालका लागि १५ हजार दिएको र मृत्यु भएका प्रतिपरिवारलाई दुई लाखका दरले राहत उपलब्ध गराएको ढकालले बताए । उनले जनसङ्ख्या अनुसार एक लाख बढ्दै जाने बताए।रासस

Logo