माधव नेपालकाे टिप्पणी- ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न सकेनन्

माधव नेपालकाे टिप्पणी- ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न सकेनन्


नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रोश व्यक्त गरेका छन् । 

बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न नसकेको टिप्पणी गरेका हुन् । संविधान र राज्यभन्दा माथि आफूलाई ठान्ने ओलीमा  हिटलर प्रवृत्ति देखापरेको आरोप लगाउँदै उनले केही समयमा हिटलरशैलीमै ओलीको अहंकार आफैं समाप्त हुने बताए ।   

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई आगामी ४ मंसिरमा हुने निर्वाचनमा निर्वाचित गर्न नसके प्रतिगमनकारीको मनोबल बढ्ने  अध्यक्ष नेपालको भनाइ छ । “हामी देश विकासको नयाँ यात्रामा अगाडि बढ्न चाहन्छौँ । हामी पुनःजाँचिन चाहन्छौँ । हाम्रो गठबन्धनले जित्नुपर्छ । सहमतिका साथ उठाएका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।” उनले भने ।

पूर्वप्रधानमन्त्री नेपालले शक्ति वृद्धिका लागि एकले अर्कालाई विजयी गराउनुपर्नेमा जोड दिए । “यो एक दिन दुई दिनको यात्रा होइन । गठबन्धन यथार्थ भएका हुनाले, गाउँ टोल बस्ती बस्तीमा गएर गठबन्धनका पक्षमा माहोल बनाउन र विजयी गराउनुपर्छ”, उनले भने । तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आम नेपालीलाई शुभकामना दिँदै उनले पार्टी  र निर्वाचन चिह्न अलगअलग भए पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । 

Logo