देउवाकाे गुनासाे- ‘यो गठबन्धन रहरले बनेको होइन, जितका लागि मिल्नुपर्ने बाध्यता’

देउवाकाे गुनासाे- ‘यो गठबन्धन रहरले बनेको होइन, जितका लागि मिल्नुपर्ने बाध्यता’


प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोहीपनि राष्ट्र र राष्ट्रिय एकताको बिरुद्धमा जान नसक्ने बताएका छन् । 

सोमवार काठमाडौँमा आयोजित सत्तारुढ गठबन्धनको वागमती प्रदेश स्तरिय संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका कारण कोहीपनि राष्ट्र र राष्ट्रिय एकताको खिलाफमा जान नसक्ने बताएका हुन् । उनले कसैले प्रजातन्त्र बिरोधी कार्य गर्न पनि नसक्ने बताए । 

प्रधानमन्त्री देउवाले अहिले संक्रमणकालिन समय भएकाले आपसमा झगडा गर्नु नहुने बताए । उनले गठबन्धनलाई टिकाएर देश विकासको बाटोमा जानुपर्ने बताए । 

उनले भने– ‘गठबन्धनको कारणले सबैले टिकट पाउँदैनन् । यो हाम्रो पार्टीमा पनि, हरेक पार्टीमा त्यही समस्या होला । गठबन्धन छ चुनावी जितिहाल्छु टिकट चाहियो । त्यस्तो पनि छ अहिले । भोलिको दिनमा अझ यसलाई बढाउन सकिन्छ । भरसक म न्यायपूर्ण तरिकाले साथीहरुलाई चुनावमा उठाउने प्रयास गर्नेछु । हरेक पार्टीमा समस्या छ । तर अहिलेको बेला संक्रमणकाल हो । अहिलेको बेला झगडा गर्ने बेला होइन । अहिलेको बेला गठबन्धन टिकाउनु हो । अब देश विकासमा जाने हो । पिछडिएको वर्गदेखि सबैलाई समान न्याय, अधिकार दिने बेला आएको छ । यो भएको खण्डमा नेपाल सच्चा मानेमा अझैपनि जातिय विभेददेखि लिएर सबै विभेदहरुको समाधान भएर अगाडी बढ्ने छौँ । गठबन्धनका कारणले भोलिका दिनमा कसैले पनि प्रजातन्त्र बिरोधी कार्य गर्ने, नेपालमा प्रजातन्त्रको खिलाफमा कोही जानसक्ने छैनन् । राष्ट्रको खिलाफमा कोही जान सक्ने छैनन् । राष्ट्रिय एकताको खिलाफमा कोही जान सक्ने छैनन् । समावेशिताको खिलाफमा कोही जान सक्ने छैनन् । अत्यन्तै समावेशी, सुन्दर नेपाल बन्नेछ ।’ 
 
प्रधानमन्त्री देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै गठबन्धन नबनेको स्पष्ट पारे । देशमा स्थायी शान्ति, दह्रो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै उनले यसको अपरिहार्यता भोलि पनि रहने उल्लेख गरे । 

उनले भने– ‘यो गठबन्धन आवश्यकताले बनेको गठबन्धन हो । रहरले बनेको होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउनलाई गठबन्धन भएको होइन । अहिलेको आवश्यकताले बनेको हो । यो गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ । देशमा स्थायी शान्ति, कसैले खोस्न नसक्ने लोकतन्त्र, समावेशिता, कसैले हटाउन नसक्ने संविधान त्यसको रक्षा गरेर हामीले अगाडी बढेको खण्डमा हाम्रो देश सच्चा मानेमा अगाडी बढ्न सक्छ भन्ने लाग्छ मलाई ।’
 
चुनावमा कुनैपनि दलको बहुमत नआउने भएकाले आसपमा मिल्नुपर्ने बाध्यता भएको प्रधानमन्त्री देउवाको भनाई छ । गठबन्धनका दलहरु बिच आपसमा एकतावद्ध भएर गठबन्धनका उम्मेदवारलाई विजय गराउन उनले आग्रह गरे । 

Logo