तीन महिनामा बैंकहरूको नाफा ५.९३ प्रतिशतले बढ्यो, कुन बैंकको कति ? [विवरणसहित]

तीन महिनामा बैंकहरूको नाफा ५.९३ प्रतिशतले बढ्यो, कुन बैंकको कति ? [विवरणसहित]


आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (साउन, भदौ र असोज) मा वाणिज्य बैंकहरुको नाफा बढेको छ । बैंकमा लगानी योग्य रकम (तरलता)को अभाव हुँदा पनि बैंकको नाफा ५.९३ प्रतिशतले बढेको हो ।  

गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकहरुले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार कमाएको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ५.९३  प्रतिशतले बढेर १८ अर्ब ७५ करोड ६८ लाख १५ हजार रुपैयाँ पुगेको छ । तर केही बैंककाे भने नाफामा गिरावट आएको छ । 

१२ बैंकको नाफा घट्यो  
बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासिक विवरण अनुसार देशभर सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये १२ बैंकको नाफा घटेको छ । नाफा घट्नेमा एनसीसी बैंक, मेघा बैंक, सानिमा बैंक, सिटिजन बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, प्राइम कर्मसियल बैंक, नेपाल बैंक, एनएमबी बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक र सिद्धाथ बैंक रहेका छन् । 

सनराइज बैंक र कृषि विकास बैंकको सबैभन्दा धेरै नाफा घटेको छ । उक्त बैंकहरुको नाफा ५० प्रतिशत भन्दा धेरै घटेको हो । सनराइजको नाफा ६१.४९ प्रतिशतले घटेर १६ करोड ५८ लाखमा पुगेको छ भने कृषिको ५४.४७ प्रतिशतले घट्दै २२ करोड ९ लाखमा झरेको छ । 

सबैभन्दा कम नाफा घट्नेमा एनसीसी, सानिमा, अक्ष्मी र प्राइम कर्मसियल बैंक रहेका छन् । गत आर्थिक वर्ष ५१ करोड ८० लाख कमाएको एनसीसी बैंकको नाफा यो वर्ष ०.२३ प्रतिशतले घटेर ५१ करोड ६८ लाखमा पुगेको छ । यस्तै, गत वर्षको सोही अवधीमा ५६ करोड ७८ लाख कमाएको सानिमा बैंकले यो वर्ष भने ५४ करोड ८२ लाख मात्र कमाएको छ । यो ३.४५ प्रतिशतको फरक हो ।

यता लक्ष्मी बैंकको नाफा पनि ८.९३ प्रतिशतले घटेर ५० करोड ३४ लाखमा पुगेको छ । यसअघि सोही अवधिमा बैंकको नाफा ५५ करोड २८ लाख रहेको थियो । साथै, प्राइम कर्मसियल बैंकको पनि अघिल्लो वर्ष ९७ करोड ७९ लाख रहेको नाफा १०.६१ प्रतिशतले घटेर ८७ करोड ४१ लाखमा झरेको छ ।

यस्तै, मेघा बैंक, सिटिजन बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, एनएमबी बैंक र सिद्धाथ बैंकको भने ११ देखि ५० प्रतिशतसम्म नाफा घटेको छ । ९१ करोड ४६ लाख नाफा कमाएको मेगा बैंकले यस बर्ष भने ४४.३३ प्रतिशतले घटेर ५० करोड ९१ लाखमा झरेको छ । सिटिजन बैंकको नाफा पनि २७.०८ प्रतिशतले घटेको छ । यस बैंकले गत बर्ष ६८ करोड ७३ लाख कमाएको थियो भने अहिले ५० करोड १२ लाख मात्र कमाएको छ । 

यता माछापुच्छ्रे बैंकको नाफा पनि १९.६५ प्रतिशतले घटेर ४५ करोड ११ लाखमा झरेको छ । यसै अवधिमा गत वर्ष यस बैंकको नाफा ५६ करोड १५ लाख रहेको थियो । यसैगरी, सिद्धाथ बैंकको नाफा ४७.५८ प्रतिशतले घटेर ४९ करोड ८२ लाखमा झरेको छ । नेपाल बैंक र एनएमबी बैंकको पनि नाफा पनि घटेको छ । उक्त बैंकको नाफा क्रमस १९.९७ र १३.४३ प्रतिशतले घटेको हो । 

६ बैंकको नाफा अर्बौंमा 
असोज मसान्तसम्म वाणिज्य बैंकले आर्जन गरेको नाफा अनुसार ६ वटा बैंकले भने अर्बौैं कमाएका छन् । अर्ब बढी नाफा कमाउनेमा कुमारी, नेपाल इन्भेष्टमेन्ट, नबिल, राष्ट्रिय वाणिज्य, एनआईसी एशिया र ग्लोबल आइएमई बैंक रहेका छन् । 

सबैभन्दा बढी नाफा कमाउनेमा एनआईसी बैंक रहेको छ । यस बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ७५ करोड ६७ लाख ६९ हजार रुपैयाँ कमाएको छ । यो अवधिमा बैंकको नाफा ४८.९७ प्रतिशतले बढेको हो । यस्तै, दोस्रोमा रहेको नबिल बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको नाफा ४१.२९ प्रतिशतले बढेको हो । 

त्यसैगरी, कुमारी बैंकले १ अर्ब १४ लाख ५९ हजार, इन्भेटमेन्ट बैंकले १ अर्ब १४ करोड ५ लाख ९७ हजार, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड ६६ लाख ७८ हजार र ग्लोबल आइएमई बैंकले १ अर्ब १८ करोड ९५ लाख ४५ हजार नाफा कमाएको छ । तर, सबैभन्दा थोरै नाफा कमाउनेमा सनराइज बैंकले १६ करोड ५८ लाख २७ हजार आर्जन गरेकोे छ । 

वाणिज्य बैंकहरूमध्ये ८ वटा बैंकको नाफामा पनि राम्रो सुधार आएको छ । गत आर्थिक वर्षको तुलनामा एभरेष्ट, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई, प्रभु, सेन्चुरी कमर्सियल, सिभिल र बैंक अफ काठमाडौंको नाफा आर्जनमा सुधार आएको हो । 

गत आर्थिक वर्षको तुलनामा यस वर्षको पहिलो त्रैमाससम्म आइुग्दा एभरेष्ट बैंकको नाफामा ४८.९५ प्रतिशत ले सुधार आएको हो । यस्तै, हिमालयन बैंकको १७.५८ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६८.३९ प्रतिशत, नेपाल एसबीआइ बैंकको ६८.२३ प्रतिशत, प्रभु बैंकको १०.७९ प्रतिशत, सेन्चुरी कर्मस्यल बैंकको १६.८९ प्रतिशत, सिभिल बैंकको ४२.२२ प्रतिशत र बैंक अफ काठमाडौंको १०.७० प्रतिशतको नाफा आर्जन गरेका छन् । 

हेर्नुहाेस्, बैंकहरूकाे विवरण-

 

Logo