जब प्रहरी नियन्त्रणमा रहेको मोटरसाइकल चोर स्थानीयले भगाए

जनकपुरधाम । धनुषाको सिमावर्ती गाउँ मुखियापट्टी मुसहर्नियाँमा मोटरसाइकल चोर समात्न जिल्ला प्रहरी कार्यालय धनुषाबाट सादा पोसाकको टोली गयो ।

मंगलबार साँझ गएको प्रहरीले टोलीले मोटरसाइकल चोर भनिएका व्यक्तिलाई चोरीको मोटरसाइकल बिक्री गरिरहेको अवस्थामा पक्राउ गर्‍यो । तर त्यहाँ जम्मा भएका स्थानीयले चोर भनिएका ती व्यक्तिलाई छुटाउन प्रहरीमाथिनै आक्रमण गरे ।

प्रहरीमाथि स्थानीयबासी जाइलागेपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको धनुषा प्रहरीले जनाएको छ ।

भारतसँग जोडिएको मुसर्नियाँमा केही महिनाअघि प्रहरीको हतियारसमेत लुटिएको थियो । गत वैशाख १८ गते भारततर्फ मदिरा तस्कर गर्नेहरुको एक समूहले सोही ठाउँमा असई प्रमोद कुमार साहको पेस्तोल लुटेका थिए । लुटिएको पेस्तोल सोही दिन साँझ सिमावर्ती क्षेत्रको एक झाडीमा फेला परेको थियो ।