पाकिस्तानका एक चर्चित पत्रकारको केन्यामा हत्या

पाकिस्तानका एक चर्चित पत्रकारको केन्यामा हत्या


देशको शक्तिशाली सेनाको आलोचकका रूपमा चिनिएका पाकिस्तानका एक चर्चित पत्रकारको केन्यामा हत्या भएको छ । 

पाकिस्तान छाडेको दुई महिनामा नै उनको हत्या भएको हो । अर्शद शरिफकी पत्नी जाभेरिया सिद्धिकीले ट्वीट गर्दै उनको हत्या भएको जानकारी दिएकी छिन् । उनीमाथि देशद्रोहसहितका मुद्दा लगाएपछि पक्राउ पर्नबाट जोगिन ४९ वर्षीय पत्रकारले गत अगस्तमा मात्र पाकिस्तान छाडेका थिए । पूर्व प्रधानमन्त्री इमरान खानका सहयोगी शहबाज गिलसँगको अन्तरवार्तामा गिलले सेनाविरुद्ध कथितरुपमा आपत्तिजनक टिप्पणी गरेको आरोप लगाइएको थियो ।
आफ्नो ज्यानविरुद्ध खतरा रहेको बताउँदै उनी दुबई पुगेका थिए भने त्यसपछि उनी केन्या पुगेका थिए । उनले आठ वर्ष काम गरेको एआरवाईले गत अगस्तमा उनलाई देशविरोधी सामग्री प्रशारण गरेको आरोप लगाउँदै हटाएको थियो।    
पाकिस्तानको विदेश मन्त्रालयले शरिफको निधनप्रति दुःख व्यक्त गरेको छ । केन्याको मिडियाले प्रहरीले अर्के व्यक्ति ठानेर शरिफमाथि गोली चलाएको बताएको छ । यसबारे थप अनुसन्धान गरिने प्रहरीको भनाई छ ।

Logo