काठमाडौं महानगरले सुरु गर्‍यो डेंगु नियन्त्रण अभियान

काठमाडौं । काठमाडौं महानगरले डेंगु नियन्त्रण अभियान थालेको छ । त्यसको लागि राजधानीको भोटेबहाल, लगनटोल, टेकु लगायतका क्षेत्रमा लामखुट्टे नियन्त्रण अभियान थालेको हो । कुना कुनामा रहेका झाडी हरुमा डेंगुका लामखुट्टे बस्ने हुँदा ति ठाउँमा धुँवा लगाएर लामखुट्टे नियन्त्रण अभियान सुरु गरिएको महानगरले जनाएको छ ।

महानगरले डेंगुका बारेमा जानकारी गराउनुका साथै डेंगु सार्ने एडिस लामखुट्टेको फुल पार्ने स्थानको खोजी र नष्ट गर्ने कार्य शुरू गरेको हो । डेंगुका कारण काठमाडौंमा एक जनाको मृत्यु भइसकेको छ । भने ८० भन्दा बढी विरामी परेका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक (सरुवा) रोग अर्थात् एक प्रकारको ज्वरो हो । भाइरस शरीरमा बोकेको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । चिकित्सकहरू डेंगुलाई सहरीकरण वा सडकसँग जोडिएको रोगका रूपमा चित्रित गर्छन् ।

विज्ञका अनुसार यो लामखुट्टेले विशेषगरी जथाभावी फालिएका बोतल, टायर, भाडाकुँडा, घरमाहुने गमला, खुला छाडिएका पानी ट्यांकीमा फुल पार्छ । एडिज नामक लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । अन्य लामखुट्टेले फोहोर पानीमा फुल पार्छ तर, यसले सफा पानीमा फुल पार्छ ।

यो लामखुट्टेको अण्डा कालो रंगको हुन्छ, लामखुट्टेको शरीर र खुट्टामा कालो र सेतो धर्का हुन्छ । त्यसैले यो लामखुट्टेलाई टाइगर लामखुट्टेको नामले पनि चिनिन्छ । लामखुट्टेको शरीरमा भाइरस भएको बेला अर्थात् २ देखि ७ दिन भित्र कुनै स्वस्थ मानिसलाई टोक्दा डेंगु सर्छ ।

चिकित्सकका अनुसार डेंगु भाइरस मार्ने र निर्मूल गर्ने कुनै विशेष औषधि नहुने भएकाले यो रोगमा अनावश्यक औषधिको प्रयोग गर्नु हुँदैन ।