दलहरुले आफुभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक छ : सुनिता डंगोल

दलहरुले आफुभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक छ : सुनिता डंगोल


काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताएकी छन् । बुधबार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले नेपाल सम्वतको छुट्टै मौलिक महत्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताइन् । उनले सरकारी कार्यालयहरूमा चलाउने डकुमेण्टहरुमा नेपाल संवत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय संवत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गरिन् । उनले अहिलेका राजनीतिक दल र नेताहरुले राष्ट्रिय विभूति शंखधर साख्वाबाट धेरै कुरा सिक्न आवश्यक रहेको समेत बताइन् ।

उनले भनिन्, ‘नेपाल संवतको छुट्टै मौलिक महत्व र पहिचान छ । संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत हो नेपाल संवत । जनतालाई ऋण मोचन गरेर, जनतालाई सबैभन्दा प्राथमिकतामा राखेर शुरुवात भएको हाम्रो माटोको, मौलिक नेपाल सम्वत विशेष कार्यक्रम गरेर मनाइरहेका छौँ । राष्ट्रिय विभूतिको रुपमा मान्यता दिइसकेपछि हामीले लिखित रुपमा मात्रै होइन कार्यान्वयन गर्न व्यवहारमा लागू गर्न महत्वपूर्ण छ ।’ 

उनले भनिन्– ‘हामीले चलाउने डकुमेण्टहरुमा जबसम्म नेपाल संवत प्रयोग गर्न सक्दैनौँ, तबसम्म यसलाई राष्ट्रिय संवत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नहुन सक्छ । नेपाल संवत मनाइरहँदा राष्ट्रिय विभूतिबाट सिक्नुपर्ने धेरै पाठ छ । जनतालाई ऋण मोचन गरे झैँ आफू भन्दा माथि जनता भनेर सोच्न जरुरी छ ।’

उपप्रमुख डंगोलले संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत भनेको नेपाल सम्वत रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताइन् ।

Logo