उपाध्यक्ष पौडेलको दाबीः ‘एमाले एक्लैले बहुमत ल्याएर सत्ताको बाघडोर सम्हाल्छ’

उपाध्यक्ष पौडेलको दाबीः ‘एमाले एक्लैले बहुमत ल्याएर सत्ताको बाघडोर सम्हाल्छ’


नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । 

सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै श्रृजना गर्ने जनताको ठम्याइ रहेको भन्दै आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताए । 

सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति भएको पनि उपाध्यक्ष पौडेलले पटकपटक दोहो-याए । अन्य सहयात्री दलहरुको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ थियो । 

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले भने, ‘नेकपा (एमाले) आउने निर्वाचनबाट पाँच वर्षका लागि जनादेश प्राप्त शक्तिका रुपमा सरकारको नेतृत्व गर्ने शक्तिका रुपमा उदाउने छ भन्ने मेरो अटल विश्वास छ । गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छ । र, मैले आफैं पनि प्रत्येक निर्वाचन क्षेत्रको स्थितिको बारेमा जानकारी लिने गर्छु । मैले १६५ निर्वाचन क्षेत्रको कुरा गर्दाखेरी र समानुपातिकतर्फको कुरा गर्दा हामी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गर्दा नेकपा (एमाले) दुई तिहाई त म भन्दिन । साधारण बहुमत नेकपा (एमाले) एक्लैले ल्याउने स्थिति छ आजको मितिमा । र, त्यस अतिरिक्त हामीसँग निर्वाचन सहकार्य गरेका कतिपय राजनीतिक दलहरु पनि छन् । उनीहरुले पनि सरकार निर्माणमा हामीलाई साथ दिने स्थिति छ भन्दाखेरी हामी सुविधाजनक हाम्रो आफ्नै बहुमत । त्यसमा अरु पनि सहयात्री दलहरुको समर्थन गर्दाखेरी हामी सुविधाजनक बहुमतका साथ आगामी पाँच वर्ष मुलुकको नेतृत्व गर्छौं । यसमा कुनैपनि प्रकारको दुविधा राख्नुपर्ने आवश्यक्ता म देख्दिन ।’

उनले अगाडि थपे, ‘गठबन्धनको त वास्तवमा भन्नुहुन्छ भने गठबन्धनको अवस्थामा त राष्ट्रव्यापी रुपमै धेरै कमजोर देखिएको छ । र, गठबन्धनको अहिलेको मुलुकको समस्याको समाधान दिने माध्यम गठबन्धन होइन । गठबन्धन समस्या सृजना गर्ने माध्यम हो भन्ने सिंगो राष्ट्रको ठम्याइ छ । त्यसकारणले गठबन्धनले समस्याको समाधान गर्न सक्दैन । यसले समस्या श्रृजना गर्ने हो । समस्या समाधान गर्नका लागि एमाले चाहिन्छ । त्यसकारणले शासन सत्ताको बाघडोर, सत्ताको बाघडोर एमालेलाई हस्तान्तरण गर्नुपर्छ भन्ने नेपाली जनताको निस्कर्ष हो आजका मितिमा भन्ने मलाई लाग्दछ । र, यस अनुरुपकै नतिजा मंसिर ४ गतेको निर्वाचनबाट पनि प्रकाशित हुन्छ भन्ने मेरो अटल विश्वास छ ।’  

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढंगले अघि बढेको पार्टी भएकोसमेत जिकीर गरे । उनले छिटै पार्टी केन्द्रले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने घोषणासमेत गरे । 

उनले भने, ‘रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा (एमाले) विजयी हुन्छ, सानदार ढंगले विजयी हुन्छ । र, विगतमा निर्वाचनका नतिजाहरुलाई ब्रेक गर्नेगरी विजयी हुन्छ भन्ने त्यहाँका जनताको ठम्याइ छ । मैले यस बीचमा निर्वाचन क्षेत्रका मतदातासँग, त्यहाँका बुद्धिजीवि, श्रमिक, मजदुर, किसान सबै उद्योगी, व्यवसायी, युवा विद्यार्थी, महिला, दलित विभिन्न अल्पसंख्यक समुदायहरु, जनसमुदाय, मधेसी समुदायका जनसमुदाय, मुस्लिम समुदायका जनसमुदायलगायत सबै विभिन्न जाति, भाषा, धर्म, संस्कृतिका जनसमूदाय सबैसँग भेटेर मैले कुराकानी गरेको छु । उहाँहरुसँग भेटेर कुरा गर्ने क्रममा यही निष्कर्षमा उहाँहरु पुग्नुभएको निस्कर्ष पाएको छु कि मंसिर ४ गतेको निर्वाचनमा हामी नेकपा (एमाले) को तर्फबाट प्रत्यासी रहनुभएका उम्मेदवारहरुलाई विजयी बनाउँछौं भन्ने त्यो मनस्थितिमा, त्यो निस्कर्षमा त्यहाँका मतदाताहरु पुग्नुभएको छ । र, हामी अघिल्ला नतिजाहरुलाई ब्रेक गर्नेगरी त्यो उचाईबाट यस पटक सफलता प्राप्त गर्छौं भन्ने मलाई लाग्छ ।’

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी शासकीय स्वरुपको विषयमा पुनर्विचार गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे । संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने तर त्यसको शासकीय स्वरुपलाई तत्काल संशोधन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाई थियो । 

उनले भने, ‘संविधान निर्माण पूर्व शासकीय स्वरुपका प्रश्नमा विषयमा दलहरु आफ्ना आफ्ना मान्यताहरु थिए । र, हामीले पनि आफ्ना मान्यताहरु सार्वजनिक गरेका हौं । त्यस हिसावले छलफल गरेका हौं । र, एउटा निस्कर्षमा पुग्दा हामीहरु विभिन्न दलहरु एउटा साझा सहमतिमा आइपुग्यौं । निस्कर्षमा आइपुग्यौं । र, अहिलेको संविधान जारी भएको छ । र, यो संविधानले यस्तो प्रकारको शासकीय स्वरुप अवलम्वन गर्ने निस्कर्ष अघि सारेको छ । आजको आवश्यक्ता शासकीय स्वरुपको बारेमा विचार वा पुनर्विचार भन्दा पनि आजको आवश्यक्ता संविधानको रक्षा हो । संविधानको प्रभावकारी कार्यान्वयन हो । संविधानको रक्षा र यसको प्रभावकारी कार्यान्वयनको क्रममा आर्जित अनुभवको आधारमा आउने दिनमा संविधान गतिशील दस्तावेज हो । संशोधन हुँदै जाला । त्यो अलग विषय हो । तर, आज हामी संविधानको रक्षामा केन्द्रित हुन चाहन्छौं ।’

उपाध्यक्ष पौडेलले संविधानले सुनिश्चित गरेका मौलिक हकहरुको निर्वाध रुपमा नागरिकहरुले उपभोग गर्न पाउने परिस्थितिको निर्माणमा पनि आफ्नो पार्टी लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । 

Logo