ऋषि, ऋषिपत्नी र गोडा धोएको पानी
  • दुर्गा पंगेनी-

हिन्दू महिला मात्रको महान् पर्व हरितालिका ‘तीज’ भर्खरै सकिएको छ । यस पटकको तीजले पनि समाजमा केही थान विवादहरू बहस गर्नका लागि छोडेर गएको छ । अचम्म र उदेकलाग्दो कुरा त के भने अति आधुनिक देखिने अथवा आफूलाई समाजको बराबरी हिस्सा हुँ भनेर मान्ने यौटा तप्का त्यो बहसमा उग्र रूपमा प्रस्तुत भएको देख्दा भने त्यस्तो किन हुन्छ भनेर केलाउनै पर्ने अवस्था बन्दो रहेछ ।

कुरा तीजको व्रतबाट सुरु हुन्छ । व्रत बस्ने प्रचलनको आफ्नै धार्मिक र सांस्कृतिक महत्त्वहरू होलान् तर ती परम्पराहरू आजको आधुनिक युगमा कति महत्त्वपूर्ण हुन सक्छन् अथवा त्यो आस्था र त्यस किसिमको विश्वासले अहिलेको मान्छेको जीवनमा कुनै ठोस प्रभाव पार्छ कि पार्दैन त्यो बेग्लै बहसको पाटो हुन सक्छ । तर, त्यसरी कुनै महिला कुनै पुरुषको लागि व्रत बस्नु उचित अथवा अनुचित भन्ने कुराको छलफल भने निकै चर्को रूपमा हुँदै गइरहेको देख्न सकिन्छ ।

हुन त यो नितान्त व्यक्तिगत कुरा हो । समय खर्च गरेर यो विषयमा बहस गरेर कुनै निचोडमा कोही पनि पुग्न सक्दैन किनभने व्यक्तिगत कुराहरूलाई जतिसुकै छलफलको विषय बनाए पनि र जस्तोसुकै निष्कर्ष निकालिए पनि त्यो कुरा व्यवहारमा कसैले कसैमाथि लादेर लागू  गराउन सक्दैन । फेरि पनि मान्छेहरू बहस गरिरहेछन् सामाजिक सञ्जालमा र त्यो ठीक हो कि बेठीक हो भनेर आफ्नै पारामा घोषणा गरिरहेछन् ।

सामाजिक सञ्जालका पोस्टहरू सरसर्ती हेर्दा कस्तो लाग्छ भने जुन महिला आफ्नो बिहे ‘आँगन पोलेर’ होस् भन्ने चाहना राख्ने गर्थिन्, आज तिनै महिला ‘गोडाको जल’ को चर्को विरोधमा उत्रिएको देख्न समेत पाइयो । जुन युवती बाआमाले आफ्नो लोग्नेको गोडाको जल खाएर आफूलाई ज्वाइँको हातमा सुम्पियून्  भन्ने चाहन्थिन् र त्यसै भएको पनि थियो, ती युवती अहिले ‘महिला’ भइसक्दा त्यो प्रचलनको खरो विरोधी भएर सामाजिक सञ्जालमा उग्र रूपमा प्रस्तुत भएको समेत देख्न पाइयो । के कुराको असन्तुष्टिका बाछिटा हुन् ती भनेर सजिलै अनुमान गर्न सकिने उग्रता प्रदर्शन भइरहेको देखिन्छ

 स्वस्थानीको प्रसाद नखाई फाल्दा गोमा ब्राह्मणीको जस्तो हाल हुन्छ कि भनेर डराएर नमिठो मानिमानी खाँदै मुख बाङ्गो पार्नेहरू, आफन्तमा कोही स्वर्गे भएर जुठोभित्र खानामा ननभेज पर्छ कि भनेर डराउँदै छोइछिटो बार्नेहरू, पुत्रप्राप्तिको लागि व्रत बस्नेहरू र यौटा छोरो त जसरी पनि चाहिन्छ है भगमान भनेर ईश्वरको शरणमा पर्नेहरू समेत ऋषि धमलामाथि खनिएको देखियो यस पटकको ‘पाउ जल’ काण्डमा ।

यस्तो किन हुन्छ त ? यो प्रश्नमा भने एकछिन छलफल गर्नै पर्ने हुन्छ । जब पुरुषलाई महिला र महिलालाई पुरुष आत्मै देखि ‘मन पर्न थाल्छन्’ तब तहाँ प्रेमको उत्पत्ति हुन्छ र जहाँ प्रेमको बास हुन्छ त्यहाँ के जायज के नाजायज भनेर ती दुई प्राणीले मात्र निर्क्योल गर्छन्, अरू मान्छेहरू जति उफ्रे पनि या जतिसुकै विरोध गरे पनि त्यसले केही केही फरक पार्दैन । यो जान्दाजान्दै पनि समाज त्यो विषयमा विभक्त भएको देख्दा भने  कुनै पनि विषयको पक्ष र विपक्षमा मान्छेहरू किन उत्रन्छन् भनेर केलाउनै पर्ने हुन्छ ।

सबैभन्दा पहिला त्यसरी निस्किएको विवादको सुरुवाती चरणलाई नियाल्नु जरुरी हुन्छ । ऋषि धमलाको फोटोलाई विवादको जड मानेर सोचौँ । यहाँ त्यो फोटो सार्वजनिक नभएको भए अथवा ऋषि एलिजाको ठाउँमा अन्य कुनै निम्न स्तरको या कोही मध्यम वर्गीय मान्छेको फोटो त्यसरी सामाजिक सञ्जालमा सार्वजनिक भएको भए त्यो फोटोले यो तरङ्ग ल्याउँथ्यो त ? अहँ, कदापि ल्याउने थिएन । अन्य व्यक्तिका अन्य जोडाहरूका बग्रेल्ती गोडा धोएका र जल खाएका फोटा छन् सामाजिक सञ्जालमा तर ती फोटा बहसकर्ताका नजरमा परेनन् ।

केवल ऋषि एलिजाको फोटो  चर्चाको केन्द्रमा रहे पनि त्यसले समेटेको विषय भने सार्वजनिक चासोकै थियो । बहस गर्नेहरू मध्ये कसैले त्यो फोटो व्यावसायिक रूपमा खिचेरै नियतपूर्वक सार्वजनिक गराइएको हो कि भनेर सोचेनन् होला । अधिकांशले ‘ऋषि धमला पुरुष प्रधान सोचले ग्रस्त भएको र एलिजा रूढिवादी महिला भएको’ आरोप लगाइरहे र उनीहरूलाई चर्चाको केन्द्रमा राखिरहे । चर्चाको लागि व्यवसाय गर्ने मान्छे हुन् ऋषि, उनले जुनसुकै फण्डा पनि गर्न सक्छन् चर्चाको लागि त्यसैले यो बहस नै व्यर्थ छ भन्नेसम्म कमै मान्छेहरूले सोचे होलान् । यो त भयो धमलाको व्यावसायिक तरिकाको कुरा ।

अब साँच्चिकै एलिजाले ऋषिको गोडा धोएर श्रद्धापूर्वक जल खाएकै हुन् भने पनि त्यो आम मान्छेको टाउको दुखाइको विषय हुनु हुँदैनथ्यो । अझैसम्म पनि समानता भन्ने कुरा ‘पुरुषले दिने र महिलाले लिने’ चिज हो भनेर बुझ्नेहरूको नजरमा त्यसरी गोडा धोइनु कुनै कोणबाट पनि समान व्यवहार लाग्न सक्दैन तर त्यो गोडा धुवाइभित्र लुकेको प्रेम, त्यो श्रद्धा, त्यो आत्मीयता र त्यो समर्पणले भने आपसी सम्बन्ध दिगो बनाउन या विश्वासको जग मजबुत बनाउन पक्कै भूमिका खेल्यो होला ।

त्यसरी उग्र रूपमा त्यो परम्पराको अथवा कसैको निजी श्रद्धाको विरोध गर्ने अधिकांश मान्छेहरूले आपसी प्रेम र श्रद्धा गुमाइसकेको जस्तो आभास झल्कन्छ उनीहरूको लेखाइमा । जुन महिलाले एलिजाले ऋषि धमलाबाट जस्तो प्रेम आफ्नो लोग्नेबाट आशा गर्छिन् तर त्यो पाउन सक्दिनन् भने उनको लोग्नेप्रतिको श्रद्धा घट्ने नै भयो । आफ्नो मनमा आफ्नो लोग्नेप्रति घटेको श्रद्धा समेत छताछुल्ल हुने गरी एलिजाको विरोध गरेको देख्दा त्यहाँ पोखिएको मनोविज्ञानले भने विरोधकर्ताकै उपहास गरिरहेको जस्तो देखिन्छ ।

एकपटक कसैले आफ्नो प्रेमीको श्रद्धापूर्वक गोडा धोएको देखेर उग्र विरोध गरेकाहरूलाई नजिकबाट नियाल्नुस् त्यसरी उग्र हुनेहरू या त आपसी प्रेममा सन्तुष्ट छैनन् या उनीहरूको सम्बन्धमा आपसी विश्वास छैन, या आपसमा श्रद्धा राख्दैनन् र त प्रेम र सम्मान पूर्वक अरूले गरेको कुराको समेत विरोध गरिरहेछन् ।