सुनवलमा बन्यो विश्वकै अग्लो मूर्ति, देवीले गरिन् ५० लाख भन्दा बढी सहयोग (भिडियोमा)
  • कृष्णसिंह धामी ।

काठमाडौं । पश्चिम नवलपरासीको सुनवल–४ रमवापुरमा ७१ फिट अग्लो श्रीकृष्ण भगवान दामोदरको मूर्ति निर्माण गरिएको छ । र, यसको अगुवाइ गरेकी हुन् साहसी महिला देवी घिमिरेले । झण्डै डेढ करोडको लागतमा दामोदर कुण्ड नजिकै दामोदर कृष्णको मूर्ति निर्माण गरिएको हो । मूर्ति निर्माण भएसँगै उक्त क्षेत्रको आकर्षण बढेको छ ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले निर्माण गरिएको उक्त मूर्ति यस प्रकारको विश्वकै अग्लो मूर्ति भएको दाबी निर्माणकर्ताहरूको छ । पूर्वपश्चिम राजमार्ग छेउमै रहेको अग्लो मूर्ति हेर्ने र तस्बिर खिच्नेको अहिले भीड नै लाग्ने गरेको छ ।

यहाँ दैनिक हजारौँको संख्यामा दर्शक आउने गरेका छन् । कतिपयले राजमार्गमा सवारी साधन रोकेर समेत मूर्ति हेर्ने गरेका छन् । २०७० सालमा सुनवलकी समाजसेवी देवी घिमिरेको परिकल्पना मा उक्त स्थलमा दामोदर कृष्णको अग्लो मूर्ति निर्माण गर्न थालिएको थियो । ६ वर्षको प्रयासपछि मूर्ति निर्माणले सार्थकता पाएको हो । मूर्ति निर्माणका क्रममा समाज सेवी घिमिरेले ५० लाख रुपैयाँभन्दा बढी सहयोग गरेकी छन् ।

यस स्थलको संरक्षण, सम्बद्र्धन, प्रचारप्रसार तथा विकासका लागि मूर्ति निर्माण गरिएको घिमिरेको भनाइ छ । मूर्तिको ५०० मिटर पश्चिम उत्तरमा एउटा दामोदर कुण्ड रहेको र उक्त कुण्डमा श्रीकृष्णले स्नान गरेको किंवदन्ती छ । उक्त कुण्ड नजिकैको गाउँको नामसमेत दामोदर कुण्ड रहन गएको बताइन्छ । उक्त स्थान भगवान् श्रीकृष्णको दामोदर स्वरुपसँग सम्बन्धित भएका कारण नै भगवान् श्रीकृष्णको दामोदर स्वरुपको मूर्ति निर्माण गरिएको हो ।

कृष्ण भगवानको मूर्ति निर्माणसँगै अहिले रमवापुर क्षेत्र नै धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । सुनवल नगरपालिकाले ३८ लाख रुपैयाँ दिएको थियो भने अन्य रकम दाताबाट स्वेच्छिक सहयोगस्वरुप सङ्कलन गरिएको हो । चौध बिघा क्षेत्रफलमा रहेको कृष्णधाममा श्रीकृष्ण दामोदरको अग्लोमूर्तिसहित गणेश, शिव, विश्वकर्मा एवंदुर्गाको मन्दिर तथा धर्मशाला पनि छन् ।

२०७० सालमा मूर्ति निर्माण गर्नको लागि आर्थिक सहयोग संकलन गर्ने क्रममा उनको टोलीले निकै दुःख पाएको थियो । एकातिर सरकारी निकायले धार्मिक कार्यको लागि रकम नदिने नीति थियो भने अर्कोतिर सर्वसाधारण समेत त्यत्रो लगानीमा मूर्ति निर्माण गर्न नसकिने भन्दै सहयोग गर्नबाट पन्छिदै हिँड्थे ।

मूर्ति निर्माणको जिम्मेवारी लिएकी देवीलाई निकै तनाव थियो । एकातिर मूर्ति कसरी निर्माण गर्ने भन्ने कुराले पिरोल्थ्यो भने अर्कोतिर काम गर्न सकिएन भने आफ्नो मात्र नभएर देशभरका महिलाहरूकै बेइज्जत हुने पनि डर थियो । टिममा रहेका अन्य साथीहरूले पनि सहयोग गर्न नसक्ने भएपछि देवीले नै ५० लाख रुपैयाँभन्दा बढी सहयोग गरिन् ।

उनले आफुसँग भएको गरगहनासँगै जमिन पनि बेचेकी थिइन् । देवीले ५० लाखभन्दा बढी खर्च गर्दा पनि निर्माण सम्पन्न हुन सकेन । स्थानीयतहको निर्वाचनपछि स्थानीय सरकार बन्यो । स्थानीय सरकार आएपछि बाँकी रहेको काम सुनवल नगरपालिकाको सहयोगमा सम्पन्न भएको थियो ।

मूर्ति निर्माण भएको स्थानमा रहेको कुण्डमा भगवान् कृष्ण आएर नुहाएको र त्यहाँ भाकल गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ । त्यहाँ गल्ती गर्नेले भन्दा पनि अन्यायमा परेकाले भाकल गरेमा न्याय पाइने जनविश्वास छ । कोही कसैबाट फसाइएका निर्दोषले त्यो ठाउँमा गएर भाकल गरेमा उनीहरूको मनोकामना पक्कै पूरा हुन्छ भन्ने दृढ विश्वास स्थानीयको छ ।

२०२१ सालमा बाग्लुङको अमलाचौरमा जन्मिएकी देवीले २०३७ सालमा नवलपरासीका ठाकूर घिमिरेसँग विवाह गरिन् । उनीहरूका दुई छोरी छन् । मूर्ति निर्माणकै क्रममा सक्रिय रहँदा रहँदै देवलाई भगवानले ठूलै सजाय दियो । जीवनभर साथ दिने बाँचा कसम खाएका श्रीमानलाई भगवानले आफ्नो प्यारो बनाए ।

स्थानीय तहका निर्वाचनको क्रममा सुनवल नगरपालिकाको मेयरमा उम्मेदवार बनेका श्रीमान ठाकूरलाई हृदयघात भयो । चुनावी घोषणाकै दिन उनलाई हृदयघात भएको थियो । उपचारपछि निको भएका ठाकूरमा त्यसपछि भने बेला बेला सामान्य खाले हृदयघात भइरहन्थ्यो । औषधी उपचार गरेर उनलाई दुई वर्षसम्म बचाउन सकिएको देवीको भनाई छ । अन्ततः उपचारकै क्रममा यहि बैशाख २४ गते ठाकूरको ज्यान गएको थियो ।

यतिबेला देवी एकातिर श्रीमान गुमाएको पीडामा छिन् भने अर्कोतिर मूर्ति निर्माणलाई कसरी सार्थकता दिन भन्नेमा पिरलो छ । मूर्ति निर्माणको काम सम्पन्न भएपनि भक्तजनहरूको लागि बस्ने आवास, खानेपानी, शौचालय, आदीको व्यवस्था गर्न बाँकी छ । यतिबेला देवीलाई विगतमा आर्थिक सहयोग गर्न आग्रह गर्दा कुरा सुनाउनेहरू पनि सकारात्मक भएको देख्दा निकै खुशी लाग्छ ।

भिडियोमा हेर्नुहोसः