#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32668463991087758203924095337
नेपाल706144591828951866

पौराणिक युगको एकतर्फी प्रेम : जसको अन्त्य दुःखद रह्यो !

देवगुरु बृहस्पतिका पुत्र कच देवताहरूको अनुरोधमा सञ्जीवनी विद्या सिक्न शुक्राचार्यको आश्रममा पुगे । योग्य शिष्य देखेपछि शुक्राचार्यले शत्रु पक्षकै भए पनि विद्यादान दिने निर्णय गरे । त्यसपछि कच शिष्यले पालन गर्नुपर्ने नियम पालन गर्दै गुरुका समीपमा रहेर विद्या ग्रहण गर्न थाले ।

एक दिन एक सुन्दर युवतीमाथि कचको नजर अडियो । कन्याको केशराशि, सुन्दर मुखकमल, उच्च स्तन, आकर्षक देहयष्टि अनि सबैभन्दा ठूलो कुरा मदमस्त जवानी पुरुष हृदयमा हलचल ल्याउन पर्याप्त थियो । कचको मनमा पनि त्यो दृश्य यसरी बस्यो मानौ त्यो कुनै समतल भूभागको पहाड हो ।

ती युवती शुक्राचार्यसँग आएर केही कुरा भनेर गइन् । ब्रम्हचर्यको रापमा सेकिएका कचको मनमा ती युवती देख्दा वासनाको ज्वार उठ्नु स्वाभाविक नै थियो । उनमा पुरुषोचित वासनाको ज्वार उठ्यो पनि । तर पछि उनले ती युवती आफ्नै गुरुपुत्री देवयानी हुन् भन्ने थाहा पाए । कचले आफूलाई सम्हाले, आफ्नो मन बुझाए ।

उता देवयानीले पनि कचलाई देखिन् । कचको पनि जवानीतर्फ कदम बढ्दै थियो । स्वर्गवासी देवगणहरूबीच हुर्किएका बृहस्पतिका पुत्र कच हरेक दृष्टिले सुन्दर थिए । सौन्दर्यका दृष्टिले कामदेवलाई नै हाँक दिनेसम्मका ह्यान्डसम थिए । देवयानी स्तम्भित भइन् । उनको हाल बेहाल भयो तर आफ्ना बाबुका अगाडि जसोतसो सम्हालिन् आफूलाई ।

देवयानी मौका पाउनासाथ कचको सामीप्यमा बस्न थालिन् । उनले कच को हुन् र किन शुक्राचार्यको आश्रममा आएका हुन् भनेर पनि थाहा पाइन् । सबै कुरा थाहा पाइसकेपछि त झन् देवयानी कचप्रति भुतुक्क नै भइन् तर आफ्ना कारणले कचको उद्देश्यपूर्तिमा बाधा नहोस् भनेर पनि उत्तिकै सचेत थिइन् । उनी कचसँग जीवनको सहयात्रा गर्ने मृदुल कल्पनामा हराउन थालिन् । देवयानीले सकेसम्म कचको सेवा गर्ने र आफूतर्फ उनको ध्यान तान्ने उपायहरू अवलम्बन गर्न थालिन् । उनकोे मन कचसँग साहचर्य गर्ने प्रेमिल कल्पनामा तरंगित हुन थाल्यो ।

कच शुक्रचार्यसँग मृतसञ्जीवनी विद्या सिक्न आएका छन् भन्ने कुरा दैत्यहरूले पनि थाहा पाए । उक्त विद्या देवताहरूसँग भएपछि उनीहरूलाई कसैगरे पनि कहिल्यै हराउन सकिँदैन भन्ने डर दैत्यहरूका मनमा पस्यो । जुन स्वाभाविक पनि थियो । अनि उनीहरूले एक्लै भएको मौका पारेर कचको हत्या गरिदिए । कचको हत्या भएपछि देवयानी दुःखी भइन् । उनले आफ्ना बाबुलाई भनेर कचलाई जीवित तुल्याइन् । देवयानीले कचलाई आगामी दिनमा सावधान रहन सचेत गराइन् ।

दिन बित्दै गयो । देवयानीको कचप्रतिको प्रेम पनि बढ्दै थियो । दैत्यहरूको चिन्ता पनि बढ्दै थियो । एक दिन फेरि दैत्यहरूले उपयुक्त मोका पाए र फेरि कचलाई मारे । यसपटक उनीहरूले कचलाई जलाएर खरानी बनाए र उक्त खरानी शुक्राचार्यले पान गर्ने सुरामा मिसाइदिए । रक्सीको तालमा शुक्राचार्यले पनि यस कुराको हेक्का रााखेनन् । उता देवयानीलाई पर्नु पीर पर्यो, मर्नु भयो । अनि उनले आफ्ना पितासँग कचको जीवन बचाउनका लागि अनेकौँ अनुनय विनय गरिन् । शुक्राचार्यले छोरीको आग्रह टार्न नसकी अनेक उपाय लगाएर कचलाई पुनर्जीवित तुल्याए । सुरा वा रक्सीका कारण आफूबाट शिष्यकै मृत शरीरको खरानीसम्म खाइएपछि रिसाएका शुक्राचार्यले रक्सी र रक्सी खाने सबैलाई श्राप दिए । त्यस बेलादेखि ब्राह्मणहरूले रक्सी खान छाडे । यद्यपि देवपक्षका कतिपय ब्राह्मणहरूले भने त्यसलाई वास्ता नगरी सुरापान जारी नै राखेका थिए ।

अन्ततः कचको शिक्षा पूरा भए । उनी मृत सञ्जीवनी विद्याको ज्ञाता भए । उनी अब स्वर्गलोक फर्कने भए । लामो समयपछि उद्देश्यपूर्तिका साथ देवलोक जान लागेका कच उत्साहित थिए । उनको मन आनन्दले पुलकित भइरहेको थियो ।

म तिमीलाई मन पराउँछु कच, म तिम्रो साहचर्य चाहन्छु । आजीवन तिम्रा साथ रहेर सुखभोग गर्न चाहन्छु — एक्कासि आफ्नो पछिल्तिरबाट आएको आवाजले कचको विचारशृंखला टुट्यो ।

कचले देखे, उनका अगाडि गुरुपुत्री देवयानी थिइन् ।

कचको मनमा कुनैबेला देवयानीलाई देख्दा वासनाको ज्वार नचढेको होइन, तर अहिले स्थिति बदलिइसकेको थियो । कचको मन देवयानीभन्दा टाढा स्वर्गका सुन्दरीहरूतिर पुगिसकेको थियो ।

कचले भने– देवयानी ! तिमीले मेराउपर ठूलो कृपा गरेकी छ्यौ । तिम्रा कारण मैले जीवनदान पाएको छु धेरैपटक । तसर्थ तिमीप्रति म कृतज्ञ छु । आजीवन ऋणी रहनेछु । तर….. कचले देवयानीलाई टार्ने हिसाबले उनको मुटु नै फुट्लाजस्तो बोली बोले– देवयानी, तिमी मेरी गुरुपुत्री हौ । यस हिसाबले हामीबीच भाइबहिनीको नाता जोडियो । त्यसकारण माफ गर, तिमी र मबीच विवाह हुन सक्दैन ।

कचको यो वाणी सुनेपछि देवयानी सक्ड भइन् । उनका सारा सपना तुहिए, उनी एकाएक प्रेमिल भावबाट टाढा पुगिन् । उनको सास छिट्छिटो चल्न थाल्यो । रोमरोमबाट क्रोधको ज्वाला दन्कन थाल्यो । प्रेमको स्थानमा प्रतिकार र घृणाको भाव अंकुरायो । अनि रिसले नाकका पोरा फुले, गाला राता भए, रुँदै अनि रालसिँगान चुहाउँदै रिसाएको सर्पझैँ दृष्टिले कचलाई हेरिन् ।

देवयानीले भनिन्– हे कच ! तिमीले मेरो प्रेम बुझेनौ, त्यसलाई स्वीकार गरेनौ, तिम्रा मनमा मेरोभन्दा बढी स्वर्गका सुन्दरीहरूको ध्यान छ । म यो कुरा सहन सक्दिन । तसर्थ हे कच, म अहिल्यै तिमीलाई श्राप दिन्छु कि तिमीले मेरा पितासित सिकेको मृत सञ्जीवनी विद्या विस्मरण होस् । त्यो विद्या तिमीलाई कहिल्यै पनि सम्झना नहोस् । आजसम्मको तिम्रो परिश्रम व्यर्थ होस् ।

देवता तथा कचको मृतसञ्जीवनी विद्या प्राप्त सम्पूर्ण चाहना माटोमा मिल्यो । कच विरक्तिए । अनि उनले पनि देवयानीलाई स्वजातीय ब्राह्मणसँग विवाह नभएर क्षत्रीसँग विवाह होस् भन्ने श्राप दिए र निराश मनले स्वर्ग गए । पछि देवयानीको विवाह महाराज ययातिसँग भयो ।

यसरी पौराणिक कालको एकतर्फी प्रेम दुःखद रूपमा अन्त भयो ।

सम्बन्धित समाचारहरु