डा. उत्तम पच्या उत्कृष्ट चिकित्सक घोषित

काठमाडौं । यस वर्ष उत्कृष्ट डाक्टरको अवार्ड गुल्मी अस्पताल तम्घासमा कार्यरत डा. उत्तम पच्यालाई प्रदान गरिएको छ । उनलाई अस्पतालमा सहज र सुलभ सेवा प्रवाह गरेबाफत उक्त अवार्ड प्रदान गरिएको हो ।

स्वास्थ्य खबर पत्रिकाले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट चिकित्सकको उपाधी यो वर्ष पच्याले पाएका हुन् । उनले गुल्मी अस्पताल, तम्घासमा आक्कलझुक्कल हुने सिजेरियन सेक्सन नियमित बनाइदिएका छन् ।

त्यस्तै सानो घाउचोट लाग्दा वा एपेन्डिसाइटिस, हाइड्रोसिल जस्ता अप्रेसन गर्नुपर्दा अन्यत्र जानुपर्ने समस्याको पनि अन्त्य गरेका छन् । डा. पच्याको उक्त प्रयासपछि अहिले यी सबै समस्याका लागि गुल्मीबासीको पहिलो गन्तव्य यही अस्पताल हुने गरेको छ।

बाहिरका अस्पताल जानुपरेमा पनि डा. पच्या लगायतसँग परामर्श लिने गरेका छन् । हाल अस्पतालको नेतृत्व गरिरहेका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पच्याले भइरहेको सेवामा नियमितता, आफूले गर्न सक्ने नयाँ सेवाको विस्तार र छिटो छरितो सेवाका लागि अस्पताललाई चिनाएका छन्।

यसअघि ताप्लेजुङस्थित जिल्ला अस्पताललाई पनि उत्कृष्ट अस्पताल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी गत वर्षमात्र गुल्मी अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बनेर गएका थिए ।

यस्तै विभिन्न ८ विधामा प्रदान गरिएको अवार्डबाट ९ जना सम्मानित भएका छन्। शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले सम्मानितहरुलाई अवार्ड प्रदान गरेका थिए ।

यस वर्ष उत्कृष्ट अस्पतालको हेल्थ अवार्ड कटारी अस्पताल उदयपुरले प्राप्त गरेको छ । त्यस्तै उत्कृष्ट सामाजिक संस्थाको अवार्ड नेपाल नेत्रज्योति संघले जितेको छ । उत्कृष्ट जनस्वास्थ्यकर्मी कुलत विरोधी अभियन्ता वसन्तमान श्रेष्ठ भएका छन्। उत्कृष्ट पारामेडिक्सको अवार्ड राजनकुमार थापालाई दिइएको छ।

उत्कृष्ट नर्स बाराको गञ्जभवानीपुर प्राथमिक स्वास्थ्य केन्द्रको नर्सिङ विभागको नेतृत्व गरिरहेकी निर्मला पण्डितलाई दिइएको छ। त्यस्तै स्वास्थ्य स्वयंसेविकामा कलुदेवी खड्कालाई हेल्थ अवार्डबाट सम्मान गरिएको छ। आइओएमका दुई खम्बा मानिएका डा. भीष्म प्रसाईं र डा. हेमाङ्गमणि दीक्षितलाई यस पल्ट स्वास्थ्य खबरपत्रिकाले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ दिएको छ।