कागेश्वरी मनोहरा नगरपालिकामा भोली सार्वजनिक विदा

काठमाडौं । काठमाडौंको पूर्विभेगमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिकाले भोली (शुक्रबार) सार्वजनिक विदा दिएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमी (भाद्रशुल्क अष्टमी) का लागि नगरपालिकाले सार्वजनिक विदा दिएको हो । यस पटक पनि अष्टमी देखि ३ दिनसम्म लाग्ने मेला आयोजना गरिएको छ ।

कागेश्वरीको प्रर्वद्धनको लागि मेला आयोजना गरिएको कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले जानकारी दिए । नगरपालिकाले त्यो ठाउँलाई धार्मिकका साथै पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना बनाएको मेयर थापाको भनाई छ ।

कागेश्वरी मन्दिरमा आज बिहीबार साहित्यक कार्यक्रम राखिएको छ। भोलि (शुक्रबार) मेलाको हुने र २१ गते मन्दिरको सरसफाइ गर्ने कार्यक्रम तय भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले मेलामा ५० हजारभन्दा बढी दर्शनार्थी आउने अनुमान गरेको छ ।

किंवदन्ती अनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेको र त्यही बेलादेखि मन्दिरको नाम कागेश्वरी महादेव रहन गएको जनविश्वास छ।