किन मनाइन्छ छठ पर्व ? के छ यसको महत्त्व ?

किन मनाइन्छ छठ पर्व ? के छ यसको महत्त्व ?


तिहारको समापनसँगै सुरु हुने पर्व हो छठ । नेपाल र भारतका हिन्दु धर्मावलम्बीले मनाउने छठ एक महत्वपूर्ण पर्व समेत हो । नेपालमा विशेष गरेर तराई क्षेत्रमा मनाउँदै आइएको यो पर्व हिजोआज पहाड र हिमाली क्षेत्रमा समेत हर्षोल्लासका साथ मनाउन थालिएको छ ।

छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । प्रकृतिमाथि श्रद्धा प्रकट गर्ने हिन्दु सनातनीहरुले तिथिमितिअनुसार विभिन्न कुराको पूजा र श्रद्धा गर्दै आएका छन् । जसले गर्दा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्वअन्तर्गत सूर्यको पूजा गर्ने गरिएको छ । सूर्य, मानवजाति र पृथ्वीको अन्योन्याश्रीत् सम्बन्धका लागि सकारात्मक भएकाले सूर्यको सम्मान स्वरुप छठको प्रारम्भ भएको संस्कृतिविद् डा. निर्मला पोख्रेल बताउँछिन् । 

पर्व सुरु भएसँगै खोला, तालतलाउलाई विभिन्न किसिमका वत्तिहरुले साजसज्जा गरिन्छ । छठ विशुद्धरुपमा एउटा धार्मिक आस्थाको पर्व भएकाले यस पर्वलाई महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य र शक्ति सबै छठी माताको व्रतको प्रभावका कारण भएको विश्वास गरिन्छ । त्यस्तै, द्रौपदीले पनि छठी माताको व्रत लिएको कुरा महाभारतमा उल्लेख गरिएको छ ।

मिथिलाञ्चलमा छठलाई लोकविधि–विधानानुसार परम्परागत रुपमा पराशक्ति प्रकृतिको पूजा गर्ने परम्परा छ । यसै तिथि–मितिमा छठिमाईको पूजा सूर्यपूजासँगै गरिन्छ । छठीमाईको जन्म प्रकृतिको छैठौं अंशबाट भएकाले उनको नाम छठी मैया पर्न गएको धार्मिक विश्वास छ । हिन्दु सनातनीहरुले आफुले श्रद्धा प्रकट गरेको कुनैपनि कुरालाई माताको संज्ञा दिने गरेकाले छठलाई छठीमाता भन्ने गरिएको पोख्रेलले बताइन् । छठको दिन विभिन्न समूह बनाएर सामूहिक रुपमा भजन गाउने र रमाइलो गर्ने चलन पनि छ । यसमा विशेष गरेर मैथली भाषाका गीतसंगितलाई बढी प्राथामिक्ता दिइने गरेको छ । छठ पर्वका अवसरमा कुनैपनि खालको त्रुटि हुन नहुने विश्वास छ । 

व्रतपश्चात मान्छेको इच्छापूर्ति हुने भएकाले मनोवाञ्छित फल पाइने, सन्तान सुख प्राप्त हुने र रोगव्याधी नलाग्ने मैथिल जनविश्वास रहेको छ । श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्तै महत्त्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी सम्पुर्ण परिकार पकाउनका लागि पनि छुट्टै चाेखो चुलो प्रयोग गरिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र गर्दै उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ ।

छठको पहिलो दिन ब्रतालुहरुले नहाय–खाय विधि गर्छन् । यस दिनमा ब्रतालुहरुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनिधाे खाएर व्रतको सङ्कल्प गर्दछन् । 

त्यस्तै दोस्रो दिन नहाय–खाय गरेका ब्रतालुले दिनभरि भोकै बसेर बेलुकी दूध र सक्खरमा बनाइएको खिर तथा रोटी खाएर खरना विधि पूरा गर्छन् । तेस्रो दिनलाई सँझिया अर्घ अर्थात् छठ भनिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो ।

पर्वको चौथो दिनअर्थात् अन्तिम दिनलाई विहनिया अर्घ पारण भनिन्छ । चौथो दिनको विहान सूर्य उदाउनुअघि नै घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर व्रतको समापन गर्ने चलन छ ।

Logo