‘जोशीका असल कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा’ -प्रधानमन्त्री देउवा

‘जोशीका असल कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा’ -प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन् । 

स्वर्गीय जोशीको १३औं पुण्यतिथिको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पु-याएको योगदान र लेखेको कीर्ति संरक्षण र सम्वर्द्वन गर्दै मुलुकको विकास गर्न सके उनको साँचो अर्थमा कदर हुने स्पष्ट पारेका हुन् । 

उनले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रुपमा आफूले चिनेको पनि बताए । नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साँछीको रुपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने पनि उनले बताए । 
 
प्रधानमन्त्री देउवाले भने- ‘स्वर्गीय जोशी भाषा, साहित्य, संस्कृतिलाई माया गर्ने मुलुकको निधि हुनुहुन्थ्यो । देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रुपमा मैले उहाँलाई चिनेको छु । जोशीजीलाई अत्यन्तै सरल जीवन, उच्च विचारको मान्छेको रुपमा मैले पाएको छु । उहाँमा तडकभड्क र घमण्ड कति पनि थिएन । लोकसंस्कृतिलाई उपेक्षा गरेर राष्ट्रको सम्मान हुन सक्दैन भन्ने मान्यता उहाँको थियो । लोक संस्कृतिनै विभिन्न जातजाति, भाषा, संस्कृतिबीच एकता ल्याउने उहाँको अभियान थियो । संस्कृतिमात्रै होइन् भाषा, विकासबाट कला, साहित्य, सभ्यता र ज्ञान, विज्ञानको क्षेत्रमा पनि जोशीजीले खेल्नु भएका भूमिका महत्वपूर्ण छ । खासगरी नेपालको सांस्कृतिक अन्वेषणमा उहाँको  विशिष्ट भूमिका रहेको पाईन्छ । नेपाली संस्कृतिको अनुसन्धानदाता एवम् प्रतिष्ठित साहित्य साधक हुनुहुन्थ्यो । अर्को अर्थमा उहाँलाई आफूले नेपालको इतिहासका साक्षीका रुपमा पनि भनेर चिन्न सकिन्छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराको कालखण्ड देखिनै नेपालको साहित्य, संस्कृति, राजनीतिक आयाम र तिनका अनेकौं घटनामा उहाँलाई भुक्तभोगी भएको पाएको छु । जहानियाँ राणाशासन देखि २००७ सालमा आएको प्रजातन्त्रसम्म, निरंकुश पञ्चायती व्यवस्थादेखि २०४६ सालमा आएको प्रजातन्त्र, २०६२ को गणतान्त्रिक आन्दोलनको इतिहासको साक्षी उहाँ हुनुहुन्थ्यो । तसर्थ, उहाँ नेपालको इतिहासकै साक्षी हुनुहुन्थ्यो ।’ 

उनले अगाडि थपे- मलाई सम्झना छ–२०१६ सालमा तत्कालीन पहिलो निर्वाचित प्रधानमन्त्री विपी कोइरालाले उहाँलाई पुरातत्व संस्कृति विभागको निर्देशिका बनाउन भन्नु भएको थियो । उहाँको क्षमताको विपी कोइरालाले त्यतिबेला नै पहिचान गर्नु भएको थियो । मल्लकालीन महान कलाकारहरुको खोजी गरी राष्ट्रिय विभूतिमार्फत् उनीहरुको पहिचान गराउनु भयो । नेपाल–चीनको बीचमा रहेको सांस्कृतिक सम्बन्धलाई जनसमक्ष ल्याउने खेलेको भूमिकालाई कसैले बिर्सन सक्दैन । काठमाडौं उपत्यकाको भौतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा पु-याएको योगदान उत्तिकै महत्वपूर्ण छ । नेपाली तथा नेपाल भाषा, साहित्यको श्रीवृद्धिका लागि जोशीले खेलेको सृजनात्मक भूमिकाले छुट्टै महत्व राख्दछ । नेपाली, अंग्रेजी तथा नेपाल भाषा गरी उहाँका ६ दर्जनभन्दा बढि कीर्तिहरु प्रकाशित हुनु यसैका दृष्टान्त हुन । नेपाल हिमवत संस्कृतिको उद्गम भूमिमा रहेको कुरा हामी जोशीबाट जान्दछौं, बुझ्दछौं । उहाँले नेपालबारे धेरै अध्ययन र अनुसन्धान गर्नु भएको छ । प्राचीनमा समयमा नेपालले बनाएको मठमन्दिर, कुवा, पार्टी एवम् विभिन्न पैसा र दानबारे उहाँले पुस्तकनै लेख्नु भएको छ । जोशीले मुलुकलाई दिएको अमूल्य योगदानको रुपमा सरकारले शताब्दी पुरुष तथा बाङ्मय पुरुषको सम्मान दिएको छ । जीवित अवस्थामा नै हुलाक टिकट प्रकाशित गरिएको छ । हाम्रो मुलुुकको सांस्कृतिक विविधता संसारमै अनपम छ । देशलाई चिनाउने सबैभन्दा महत्वपूर्ण आधार भनेको हाम्रो संस्कृति नै हो ।’ 

प्रधानमन्त्री देउवाले जोशीको निधनबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्दै उनले राखेको कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । 

Logo